विराटनगर / नेकपा (एमाले) को तर्फबाट मोरङ जिल्लाको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्बाचन क्षेत्र (ख) बाट निर्बाचित प्रदेशसभाका सदस्य तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीका विषयमा उठेका गम्भीर सवालबारे नेकपा एमाले कोशी प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । 

शनिवार प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गदैं मन्त्रीको हैसियतमा केही दिन अगाडी बैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रक्रियाहरु समेतको बेवास्ता गरी पदिय मर्यादा बिपरीत जापानको भ्रमण गर्नु भएकोमा वहाँलाई पार्टी र संसदीय दलको तर्फबाट मन्त्री पदबाट राजीनामा गराईसकिएको जानकारी दिनुभएको छ । 

अधिकारीको भ्रमणसँग जोडिएर मानव तस्करी गर्ने व्प्यक्तिहरुलाई शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्बजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण पार्टीले गराएको छ । आरोपको अन्तिम निरुपण नभए सम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधी परिषद सदस्य तथा नेकपा(एमाले) को संगठित सदस्यताबाट समेत निलम्वन गरिएको अध्यक्ष खतिवडाले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । 

'वहाँको भ्रमणसंग जोडिएर वहाँको भ्रमण दलका सदस्यहरु प्रक्राउ परि अनुसन्धान भइरहेको अवस्थामा स्वयम निर्वतमान मन्त्री माथी मानव तस्करीको गंभीर आरोप लगाएर बिभिन्न संचार माध्यम र सामाजिक सञ्जालहरुमा नेकपा (एमाले) माथी समेत गम्भीर आरोप लगाउदै अन्य गम्भीर प्रकृतिका अनियमितताका घटनाहरुलाई ढाकछोप वा हल्का बनाउने प्रयास भइरहेको कुराले पार्टीको  ध्यानाकर्षण भएको छ ।'- खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नेकपा(एमाले) अबिचलित रुपमा कानुनी शासनको पक्षमा उभिदै आएको जिम्मेवार पार्टी भएको नाताले वहाँले गर्नुभएको भ्रमणसंग जोडिएर लागेको मानव तस्करी जस्तो गंभिर आरोपका सम्बन्धमा शिघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी दोषीलाई कारवाही गर्न विज्ञप्तिमा भनिएको छ । 

 मुख्यमन्त्रीलाई समेत जानकारी नदिइ अधिकारी १३ गते जापान उड्नु भएको थियो । उहाँको सचिवालयको नाममा अन्य तीन जना व्यक्ति जापान गएको अध्यागमनमा थाहा भए पछि ती व्यक्तिहरुलाई पक्राउ गरिएको थियो । अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उहाँ विवादमा तानिनुभएको थियो । कात्तिक १९ गते उहाँले मन्त्री पदबाट समेत राजीनामा दिनुभइसकेको छ । 

जापानको राजधानी टोकियोस्थित टोकियो महानगरपालिकामा आयोजना हुने भनिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारीसँगै खोटाङ ऐँसेलुखर्क गाउँपालिका– २ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका– ११ बस्ने दावा शेर्पा, खोटाङकै केपिलासगढी गाउँपालिका– ४ घर भई बुढानीलकण्ठ– ११ मै बस्ने जनक राई र रसुवा कालिका गाउँपालिका– ५ घर भई काठमाडौं मनमैँजु बस्ने कञ्चन देवकोटा १३ कात्तिकमा उडेको बताइएको छ । तर, अधिकारीसँगै तीन युवालाई टोकियो अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ‘डिपोर्ट’ गरेपछि उनीहरू गत १७ कात्तिकमा नेपाल फर्किएका थिए । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार  जापानसम्म पुर्‍याउने, टिकटको व्यवस्था गर्ने, नक्कली कागजात बनाउने, भिसा उपलब्ध गराउनेसम्मको प्रयोजनका लागि महेश पाण्डे युवाबाट प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँका दरले रकम असुलेको बयान दिएको बताएका छन् ।  यसको हिस्सा निवर्तमान मन्त्री अधिकारीकहाँ पुग्यो–पुगेन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।