राजेन्द्र शर्मा 

मारकण्डेय पुराणमा एउटा कथा छ गालब ऋषिको । एकदिन उनी जङ्गलमा खुब प्यास लागेर पानी खोज्दै थिए । त्यसैबेला एउटी सुन्दरी पानीले भरिएको घडा लिएर आउँदै थिइन् । ऋषिले पानी पिउन मागे । सुन्दरीले दिन थालिन् र ऋषिले पूरै घडा रित्याइदिए । 

प्यास मेटिएर प्रसन्न भएका ऋषिले ती युवतीलाई आशीर्वाद दिए “योग्य पुत्रकी माता बन्नु” । युवतीले हाँस्दै भनिन् “मेरो नाम वीरभद्रा हो, म नगरबधु हुँ । म अविबाहित छु । कसरी पुत्र हुन्छ र ?” ऋषि गालबले वीरभद्रालाई आफ्नो आश्रममा लगे र वेदमन्त्रले उनको अभिमन्त्रणा गरे । र, भने “ जुन पुत्र जन्मिन्छ उसको नाम धन्वन्तरी राख्नु, वेदले मन्त्रिएको हुनाले त्यो पुत्र वैद्य हुन्छ र देवासुर संग्राममा देवताहरुको उपचार गर्छ” ।

कार्त्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरीको जन्म भयो । मार्केटिङमा खप्पिस भारतीयहरुले “धनतेरस” (धन्वन्तरी त्रयोदशी) लाई ‘धन’ मा फोकस गरे र हामी उल्लु बन्दैछौं । गरगहना र धातु किनेर धन बढेकोमा ढुक्क छौं । आफुलाई चाहिएको सामान जहिले पनि किन्दा भैहाल्छ नि । हामी मार्केटिङको उत्प्रेरणामा फसेको कसैले पत्तै पाएका छैनौ ।

धन्वन्तरी वैद्य जयन्तीका दिन, सबैको रोग हरण होस् भन्ने शुभकामना दिन चाहन्छु । आजका डाक्टर नै उहिलेका धन्वन्तरीका अवतार हुन् ।

धन तेरसको अर्थ के हो ?

समुद्र मन्थन गर्दा अमृतको घडा बोकेर समुद्रबाट कार्तिक कृष्ण त्रयोदशीका दिन गालव ऋषिको वरदानबाट नगरवधु महिलाका पुत्रका रुपमा जन्मिएका र प्रकट भएका थिए धन्वन्तरी। उनी वैद्य (डाक्टर) थिए ।  धन्वन्तरी त्रयोदशी हो आज । धन्वन्तरिको जन्म जयन्ती ।

भारतीय मूलका व्यक्तिहरुले आफ्नो जिब्रो अनुसार बोल्दा द्वितीयालाई दुज, तृतीयालाई तीज, भनेजस्तै त्रयोदशीलाई तेरस भन्छन् ।  त्यसपछि धन्वन्तरीको धन र त्रयोदशीको तेरस जोडेर बनाइयो धनतेरस ।

'धन' शब्दसँग आधुनिक मानिसको विशेष लगाव छ । त्यसकारण भारतीयहरु कै लहै लहैमा सारा नेपाली पनि यो दिन, सुन चाँदी भाँडा आदि किन्छन् । र, यही दिन धन जोडिएकामा ठूलो फलिफाप हुन्छ भन्ने ठान्छन् । 

अचम्म त के छ भने, सरकार पनि पो 'धनतेरस' मा बेच्न भनेर सुन र चाँदीका मेडलियन सिक्का तयार गर्छ र सूचना नै गरेर राष्ट्र बैंक मार्फत बेच्छ । सम्पत्ति जोड्नु जहिल्यै राम्रो हो । तर विकृत पारिएको तिथिलाई सम्पत्तिसँग जोड्नु गलत हो । आफ्नो अल्पज्ञानले देशको संस्कृति नविर्गानु राम्रो हो । जनतालाई भ्रमबाट मुक्त पार्ने जिम्मेवारी लिएर बसेको सरकार, आफैं भ्रमको खेती गर्नु हुदैंन । राजेन्द्र शर्माको फेसवुक वालबाट