धरान / सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी कार्तिक १६ गते प्रतियोगिता आयोजना हुने धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

'पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता' भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका विजेता क्रमशः पहिलो, दोस्रो र तेस्रोले नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

"नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ," पत्रकार सम्मेलनमा संयोजक  नवराज विष्टले भन्नु भयाे, "पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ र सबैभन्दा बढी अङ्क प्राप्त गर्नेलाई विजेता घोषणा गरिन्छ ।" 

क्यामेरा प्रविधिबाट प्रतियोगिताको निर्णय गर्ने चतरा हाइकिङका संस्थापक विजयकुमार राउतले जानकारी दिनु भयाे । उहाँका अनुसार गत वर्ष यो प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्ष्मण कटुवाल तेस्रो हुनु भएकाे थियाे । उहाँहरुले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नु भएकाे गियाे ।  

यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्ड लगायत देशमा  नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिताको रूपमा खेलिने गरिन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राख्नु भएकाे थियाे । 

गत वर्ष एक सय जना प्रतिस्पर्धीले सहभागिता जनाएको प्रतियोगितामा यस वर्ष सहभागी बढ्ने आयोजकको विश्वास छ ।