धरान । २०८१ को बडादसैँ यस वर्ष विजयादशमीको उत्तम साइत (आज)असोज २६ गते बिहान ११ः३६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले दिएको साइत अनुसार नेपालका लागि असोज २६ गते (आज) बिहान ११:३६ बजेको साइत शुभ रहेको छ ।

यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

नौ दिनसम्म पूजा अर्चना गरेको जमरा अनि दही, रातो अबिर, केरा र चामलसहितको सम्मिश्रणबाट तयार पारिएको रातो बाक्लो अक्षताले निधार भरिने टीका नै विजया दशमीको महत्त्वपूर्ण सकल परिवार एकै ठाउँमा बसेर, घरको मूल खाँबो पूजा गरेर उमेर क्रमानुसार ठुला अनि क्रमशः सानाहरूले टीका, जमरा र आर्सीवाद थाप्ने चलन छ ।

उमेर पुगेका पाकाहरू साइतको टिका लगाउन आफूभन्दा ठूला मान्यजन कहाँ जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजु–भाइकहाँ जाने गर्छन् ।

घरतर्फ टीका लगाउँदा शुभाशिष सहित दक्षिणा दिनुपर्ने र मामाघरमा लगाउँदा दक्षिणा पाइने चलन छ ।

केटाकेटीहरू टीका थापेपछि नयाँ, बास्नादार नोटहरू हात–हातमा लिएर हिँडेको दृश्य रमाइलै हुन्छ ।

ती नोटहरूमा लतपतिएको अक्षताका रातो रङ्गको एक विशेष सम्झना हामीमध्ये धेरैको वालपनसँग जोडिएको छ ।