धरान । किरात राई पत्रकार सङ्घको १७औँ स्थापना दिवसको अवसरमा किरात राई पत्रकार सङ्घ सुनसरीले दुई जना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । बराहक्षेत्रका पुराना पत्रकार हिमाल राई र रेडियो धरानकी देवीका चाम्लिङ राईलाई पुरस्कृत गरेको हो । 

चतरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आउनु भएका हिमाल राई नगद ७ हजार ५ रुपैयाँ सहित चन्द्रकला राई स्मृति पत्रकारिता सम्मानबाट पुरस्कृत हुनु भएको छ । पुरस्कार यायोक्खा धरान १३  प्रारम्भिक कमिटी अध्यक्ष श्रीपाल राईले स्थापना गरिदिनुभएको थियो । 

रेडियो धरानकी सञ्चारकर्मी देवीका राईलाई विद्याकुमारी राई स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । उक्त पुरस्कार किरात राई यायोक्खा धरान १३ प्रारम्भिक कमिटीका सदस्य कुमार राईले स्थापना गरिदिनुभएको थियो । 

पुरस्कृतद्वयलाई प्रमुख अतिथि किरात राई पत्रकार सङ्घ केन्द्रीय उपाध्यक्ष विशाल राई, पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, किराँत राई यायोक्खा सुनसरी अध्यक्ष राजेन्द्र राई, आदिवासी जनजाति महासङ्घ धरानका सुवास राईले पुरस्कार प्रदान गर्नु भएको छ । 

कार्यक्रममा सञ्चारमा पहिचान, मातृभाषाको पहुँच पुर्‍याउन सृजनशील पत्रकारिता गर्दै प्रदेश १ को पूनः नामकरणका लागि अग्रसर हुन सहभागी वक्ताहरुले जोडदिनु भएको थियो । 

सङ्घका अध्यक्ष वसन्त बान्तवा राईको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय सञ्जीव राईको सम्झनमा मौन धारण गरिएको थियो ।