काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । 

मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । 

भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिको पुननिर्माण, मदन भण्डारी राजमार्ग अन्तर्गत धरान ८ स्थित तीनढ्वाँगेको भत्किीएको पुल र सडक चाडो निर्माण राजमार्गमा पर्ने वनसंगको कटान आदेश चाँडै गरेर काम सम्पन्न गर्नुपर्ने, धरानको सर्दु खोलादेखि बराहक्षेत्रको झण्डा चोकसम्मको बाटोका लागि वातावरण प्रभाव मुल्यांकन चाडो गरि निर्माण प्रकृयामा लानु पर्ने, कोशी राजमार्गको निशानेमा गएको पहिरो, सारंगाको सडक भासिएकाले तत्काल निर्माण सम्पन्न गर्नुपर्ने, विभिन्न स्थानहरुमा बाढीले क्षति पु¥याएको कल्भर्ट पुन निर्माण गर्नु पर्ने, धरान इटहरी सडक खण्डको सेउतीखोलाको पुल तत्काल निर्माण सम्पन्न गर्दै सेउती तरहरा सडक खण्डको ५.३ किलोमिटर दुबै तर्फि सडक चाँडै सम्पन्न गर्न मन्त्री दाहाललाई ध्यानाकर्षण गराईको छ । 

धरानबाट काठमाण्डौं आएको टोलीमा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री अशोक राई, प्रतिनिधिसभा सदस्य शुशीला श्रेष्ठ, कोशी प्रदेशसभा सदस्यहरु विजय राई र रमेश बस्नेत, धरान वडा नम्बर १३ का अध्यक्ष नेत्रप्रसाद काफ्ले, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरान १३ जग्गा फुकुवा तथा सिमांङ्कन पहल समितिका संयोजक हरी कार्की, धरान १३ का स्थानीय समाजसेवी टिका राई र जसपा नेता भीम राई रहनुभएकोछ । 

मन्त्री दाहालले टोलीसंगै सडक विभागका कार्यकारी दिर्देशक रामहरी पोखरेललाई समेत राखेर समग्र योजनाको टिप्पणी गर्न लगाई कामलाई प्राथमिकताका आधार प्रारम्भ गर्न निर्देशन दिनुभएको थियो । कोशी राजमार्ग र मदन भण्डारी राजमार्ग सरकारको पहिलो प्राथमिकतामा रहेको र शरही क्षेत्र र खहरेले पारेको असरका बारेमा प्रदेश र स्थानीय सरकारसंग संघ सरकारले समन्वय गर्ने बताउनुभयो । 

त्यस्तै सर्दु जलाधार जग्गा संरक्षणका नाममा मिति २०७८ साल पुस १५ गतेदेखि रोक्का गरिएको जग्गाको  ४ सय ७ विघा जग्गाभीत्र परेका साविक बाँझगरा ९ (क) र साविक घोपा ७ (घ) र (ङ) को जग्गा फुकुवा गर्न पहल गरिदिन भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई टोलीकातर्फबाट आग्रह गरिएकोछ । धरान १३ नम्बर वडावासीको निजी जग्गा समेत जलाधारका नाममा रोक्का गरिँदा करिव ३ हजार घरपरिवार समस्यामा परेको कुरा पहल समितिका संयोजक हरी कार्किले मन्त्री अधिकारीलाई जानकारी गराउँदै यसलाई फुकुवा गरिदिन आग्रह गरिएको थियो । 

प्रतिनिधिमण्डलको आग्रहपछि मन्त्री अधिकारीले पुराना कानुनहरुका कारण जनताले पीडा खेप्नु परेको भन्दै यसलाई विस्तारै समाधान गर्दै जाने बताउनुभएको थियो । 

त्यसैगरी गत भाद्रको वर्षाका कारण धरान १३ स्थित गौरामार्ग खानेपानी संरचनामा ४० लाख बराबरको क्षति भएको, धरान वडा नम्बर ४ को सेर्केदेखि शिवधारासम्मको २७ सय मिटर दुरीमा विछ्याइएको ६३ एमएमको सम्पूर्ण पाइपहरु ध्वस्त बनाइएकोले तत्काल त्यसको मर्मतसम्भारका लागि खानेपानी मन्त्री प्रदिप यादवसंग टोलीले आग्रह गरेको थियो । मन्त्री यादवले क्षतिको सर्भे र लागत विवरणका आधारमा क्रमिक रुपमा कार्तिकसम्ममा मर्मत गरिने आश्वासन दिनुभयो । 

धरानबाट आएको टोलीले क्रमशः सिचाइ, उद्योग र धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनको विषयमा सम्बन्धीत मन्त्रालयमा जाने तयारी रहेको नेता भीमज्वाला राईले जानकारी गराउनुभयो ।