जनकपुर । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सडक दुर्घटना न्युनिकरण प्रदेश सरकारको प्राथमिकतामा रहेकाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियानमा सहयोग र सहकार्य गर्ने बताउनु भएकोछ । 

शनिबार मन्त्री आवासमा संगठनका अध्यक्ष भीमज्वाला राई सहितको प्रतिनिधि मण्डलले सडक दुर्घटना महामारी झै भइरहेको प्रत्येक दिन सातदेखि आठजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र प्रत्येक दिन ४० जना नागरिक सडक दुर्घटनामा घाइते भइरहेको तथ्य प्रस्तुत गर्दै यसलाई रोक्न नीति र व्यवहारिक सुधारको जरुरी रहेको सुझाइएको थियो । 

कुराकानीका क्रममा मन्त्री यादवले सडक सुरक्षा जनताको सुरक्षासंग जोडिएकाले प्रदेश सरकार जिम्मेवार रहेको बताउनुहुँदै सडक प्रयोगकर्ताहरुलाई सचेतना अभियान सञ्चालन गर्ने सरकारको तयारी रहेकोमा संगठनको सुझावलाई ग्रहण गर्दै अभियान सञ्चालन गरिने बताउँनुभयो । 

मधेश प्रदेशको पूर्वपश्चिम सडक जोडिएको आठवटै जिल्लामा सरोकारवालाहरु सम्मिलित सडक सुरक्षा सचेतना अभियान सञ्चालन गर्नुपर्ने संगठनले सुझाएको थियो । त्यसका लागि सरकारले बजेट विनियोजन गर्न सरकारलाई संगठनले सुझाव प्रस्तुत गरेकोमा मन्त्री यादव सकारात्मक रहेको संगठनका अध्यक्ष भीमज्वालाल राईले बताउनुभयो । 

त्यस्तै निर्माणाधिन जनकपुर बसपार्क समयमै निर्माण सम्पन्न नहुँदा वर्षौदेखि यातायात मजदुरहरुले दुख पाइरहेको समेत संगठनका प्रतिनिधिहरुले मन्त्री यादवलाई दुखेसो पोखेका थिए । बसपार्क निर्माणाधिन रहेकाले माटो, धुलो, खाल्डोहरु रहेकाले वर्षाका समय पानी जमेर हिलो भएर र घाम लागेको समय धुलोले बसपार्कमा कामगर्न समस्या रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेश अध्यक्ष अनिरुद्र झाले जानकारी गराउनु भएको थियो । भेटमा मन्त्री यादवले चाँडै बसपार्क अनुगमन गरि निर्माण कार्यलाई चाँडै सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता मन्त्री यादवले जनाएनु भएको थियो । 

मन्त्रीलाई भेट्न संगठनका अध्यक्ष राईसहित लोकतान्त्रिक यातायात व्यवसायी संगठनका मधेश प्रदेश अध्यक्ष रामनरेश सिंह, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका मधेश प्रदेश अध्यक्ष अनिरुद्र झा, कोषाध्यक्ष अर्जुन झा, टेंकर इकाई अध्यक्ष जोगी यादव लगायतका नेताहरु हुनुहुन्थ्यो ।