धरान  /  नेपाली कांग्रेसले ‘ग्रिन एन्ड क्लिन’ धरान अभियान लिएर गरेको घरदैलो कार्यक्रममा सात हजारभन्दा बढी बिरुवा वितरण गरेको छ । 

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १ सुनसरीले साउन १० गतेदेखि ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर धरान उपमहानगरपालिका–१९ बाट सुरु गरेको ‘ग्रिन एन्ड क्लिन’ अभियान कार्यक्रम धरान उपमहानगरपालिका–१ मा पुगेर समापन गरेको छ । 

अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्ता, एभोगाडो, धूपी, पारिजात, कफीलगायत विभिन्न सात हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको संयोजक एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण गरिएको छ ।” 

अभियानले जनतासँग साक्षात्कार गराउनाका साथ पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाएको भन्दै घरघरमा हरियाली प्रवर्द्धन, सरसफाइ र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि भएको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियानले धरानमा सुन्दर, स्वच्छ र हराभरा सहरमा परिणत गर्नेमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।” 

समापन कार्यक्रमका अवसरमा अभियानको उच्च प्रशंसा गर्दै ग्रिन एन्ड क्लिन धरान अभियान उन्नत र परिष्कृत भर्सन भएको भन्दै यस अभियानले सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले बताउनुभयो । घरघरमा आएर जीवनपयोगी र वातावरण मैत्री बिरुवा, औषधि, जनचेतनामूलक पर्चा वितरण र सडक सरसफाइसमेत गरेको भन्दै वडावासीले यो अभियान रचनात्मक र महत्त्वपूर्ण भएको बताएका छन् । 

अभियानका क्रममा निरन्तर उत्साहपूर्वक सक्रियताका साथ खट्ने, जिम्मेवारी बहन गर्ने, सहयोगी एवम् सहकार्य गर्ने वडा र व्यक्तिहरू तथा मिडियाकर्मीहरूलाई उहाँहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।  

कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १९१० र १९२० समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एन्ड क्लिन धरान’ अभियान सम्पन्न गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताउनुभयो । 

  अभियान समापनमा प्रदेशसभा १९२० सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, ललिता अधिकारीलगायत नेपाली कांग्रेस पार्टी र भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाका नेता तथा कार्यकर्ता र वडावासीहरुको सहभागिता रहेको थियो ।