काठमाण्डौं । काठमाण्डौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाण्डौं महानगरपालिकालाई तीनवटा यातायात मजदुर संगठनहरुले आग्रह गरेकोछ । 

साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै गोरखापत्रमा समाचार प्रकाशन र माइकिङ्ग गरेर आम सर्वसाधारण, यातायात मजदुर र यातायात व्यवसायीलाई महानगरले आतङ्कित बनाएको भन्दै त्यसो नगर्न महानगरलाई आग्रह पनि गरेकोछ । 

एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुँने भन्दै सरोकारवालाहरुसंगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरुको आग्रह छ । 

सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गर्दछौँ भनिएकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी र नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारीले हस्ताक्षर गरिएको विज्ञप्तीमा महानगरले कार्यदल गठन गरेर टिकट काउन्टरको मापदण्ड तयार गरिसकेकोछ र कार्यदलको सदस्यका रुपमा तीनवटै ट्रेड युनियनहरुको लामो मेहनत र सुझाव पछि टिकट काउन्टरको मापदण्ड तयार गरिसकिएकाले त्यसलाई व्यवहारिक परिमार्जन गरेर कार्यान्वयन गरिनुपर्ने र कार्यान्वयनका लागि संगठनहरु प्रतिवद्ध रहेको उल्लेखछ । 

टिकट काउन्टर व्यवस्थापन गर्ने विषयमा काउन्टर कोठाको आकार कति हुने भन्ने विषय मात्रै टुङ्गो लाग्न बाँकी रहेकाले मापदण्डलाई बैठक मार्फत परिमार्जन गरेर तयार पारिएको मापदण्डलाई कार्यान्वयन गरिनु पर्नेमा महानगरले सरोकारवालासंग समन्वय नगरी अकस्मात, एकांकी र हचुवाका भरमा टिकट काउन्टर हटाइने मिडियाबाजी र माइकिङ्ग गरिएकोमा संगठनहरु रुष्ट बनेको हो ।

महानगरको निरङ्कुश र शक्तिको प्रयोग गरेर ठिक लगाउँछु भन्ने दम्भले सडकमा द्धन्द्ध निम्त्याउने निश्चित भएको भन्दै संगठनको आग्रहलाई वेवास्ता गरि जवरजस्ती गरिए तीनवटै ट्रेड युनियनहरुको अगुवाईमा आन्दोलन हुने चेतावनी दिइएको छ । 

संवाद र संयमताले समस्याहरुको समाधान गर्छ दम्भ र उदण्डताले हानि गर्छ भन्दै संगठनहरु समस्या समाधानको पक्षमा रहेको विज्ञप्तीमा जनाइएकोछ ।

कार्यदलको बैठक गएको बैशाखपछि नबसेकाले सरोकारवालाहरुको सहमतिबीना महानगरले एक्लैले निर्णय गर्न नसक्ने नेता भीमज्वाला राईले बताउनुभयो । राईका अनुसार चक्रपथ आसपास मात्रै करिव २ हजार ५ सय बुकिङ्ग मजदुरहरु र विभिन्न यातायात सम्बध चारसय प्रालिहरुको टिकट काउन्टरहरु रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष समेत रहनु भएका राईले बताउनुभयो । 

महानगरले एकांकी रुपमा अघि बढ्नु हुँदैन तत्काल कार्यदलको बैठक राखेर तयार गरिएका मापदण्डका आधारमा टिकट काउन्टर र श्रम व्यवस्थापन गर्नुपर्ने नेता राईले बताउनुभयो ।