काठमाण्डौ / काठमाण्डौमा रहेका धरानेहरुको संस्था ‘ हामी धराने काठमाण्डौ ’ धरानेहरुकै पुरानो संस्था धरान सरोकार समाजमा समाहित भएको छ । मंगलबार धरान सरोकार समाजका अध्यक्ष चन्द्र घिमिरेको अध्यक्षतामा भएको दुवै पक्ष्ँका पदाधिकारीहरुको संयुक्त एकता वार्ता पश्चात दुवै संस्थाबीच एकता गर्ने सहमति गरी हामी धरानेलाई धरान सरोकार समाजमा समाहित गर्ने सहमति गरिएको हो । 

एकतासंगै हामी धरानेको तर्फबाट विनोद श्रेष्ठलाई धरान सरोकार समाजको कार्ययोजनाको रोडम्याप बनाउने मस्यौदा उपसमितिको सदस्यमा मनोनयन गरिएको छ । यसअघि समाजका उपाध्यक्ष डा. महेन्द्र सुब्बाको संयोजकत्वमा समाजकै सदस्य पराग कायस्थ र दीपक श्रेष्ठ रहेको उपसमिति गठन भई मस्यौदामा काम भईरहेको छ । 

त्यसैगरी समाजले प्रकाशन गर्न लागेको स्मारिका प्रकाशन व्यवस्थापन समितिमा हामी धरानेको पुनम प्रधानलाई पनि मनोनयन गर्ने सहमति गरेको छ । यस अघि स्मारिका प्रकाशनका लागि सम्पादन मण्डलको संयोजकमा धरानका पुराना पत्रकार आनन्द श्रेष्ठलाई चयन गरिएको थियो भने पत्रकारहरु शरदचन्द्र भण्डारी, डम्बर कृष्ण श्रेष्ठ, गोपाल दाहाल सम्पादन मण्डलमा रहनु भएको छ ।  

प्रकाशन व्यवस्थापन समितिको संयोजकमा समाजका महासचिव राजेन्द्र रिमाल र सदस्यहरुमा कार्यसमिति सदस्य सुभेच्छा अधिकारी श्रेष्ठ समेत दीपक बनेपाली, सम्राट श्रेष्ठ, सौरभ श्रेष्ठ, ईशा अधिकारी, देउराली चाम्लिङ, निवा सुब्बालाई मनोनयन गरिएको थियो । 

एकता पछि ‘हामी धराने’ शब्दलाई समाजको सैद्धान्तिक नाराका रुपमा उपयोग गर्न पनि दुवैपक्ष सहमत भएको छ ।

धरान सरोकार समाजले धरानकाे समुन्नत विकास र  धरानकाे सराेकारबारे काम गर्दै‌ आएकाे छ ।