विराटनगर । काेशी प्रदेशका मुख्य  मन्त्री हिक्कत कार्कीले  आज  विश्वासकाे मत  लिनु भएकाे छ । उहाँले विश्वासकाे मत प्रयाेजनका लागि आफ्नाे भनाई राख्नु भएकाे छ । उहाँले प्रदेशकाे समृद्धिका लागि आफुलाई विश्वासकाे मत दिनु पर्ने बताउनु भएकाे छ । 

उहाँले दिनु भएकाे मन्तव्य;

माननीय सभामुखज्यु,

सभामुखज्युको अनुमतिले विश्वासको मत लिने प्रयोजनका लागि मेरा केही भनाईहरु राख्ने अनुमती चाहन्छु। 

आज हामी प्रदेश सभाको यो पाचौं तथा बर्खे अधिवेशनको यो बैठकमा हामी उपस्थित भएका छौं। यो अधिवेशन मुलतः बजेटका सिद्धांत तथा प्राथमिकता, आगामी आ व २०८१/८२ को नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्माणमा केन्द्रीकृत हुन पर्ने थियो। तथापी प्रदेशको बदलिँदो राजनितिक परिवेशले प्रारम्भ मै मेरो नेतृत्वमा नवगठित संयुक्त सरकारको विश्वासको मत लिने प्रयोजनका लागि छलफल बाट शुरूवात हुने अवस्था रहयो। मलाई विश्वास छ नवगठित कोशी प्रदेश सरकारले यो परिस्थिति लाई महत्त्वपूर्ण ढङ्गबाट अघि बढाउन हाम्रा हिजोका गुड प्राक्टिसेस हरुलाई अघि बढाउदै तिता अनुभवहरु बाट पाठ सिक्दै अघि बढ्नेछ। हामी यस कुराप्रती गम्भीर र जिम्मेवार बन्ने प्रतिबद्धता समेत म ब्यक्त गर्न चाहन्छु। 

कोशी प्रदेश सरकारको पुनः नेतृत्व गर्ने अवसरमा यस रोस्ट्रममा उभिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण  सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु। विभिन्न बाम-लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान र बेपत्ता परिवार, घाइते, अपाङ्गता भएका र आन्दोलनमा अमूल्य योगदान दिनुहुने आम जनसमुदायप्रति हार्दिक आदरभाव प्रकट गर्दै, संविधानको मर्म र भावनाविपरीत राज्य सञ्चालनमा प्रकट भएका तमाम विचलनहरु लाई रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै प्रदेशवासी जनतामा प्रदेश संरचना प्रति आशा र भरोसा पैदा गर्न समाजमा, विशेषतः युवाहरुमा प्रकट नैराश्यता, आक्रोस र नकारात्मक सोंचमा परिवर्तन गरी सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धीको रक्षा गर्न, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा कोशी प्रदेशवासी दिदिबहिनी तथा दाजु भाईको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित विकास गर्न, 

प्रत्येक प्रदेशवासी लाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र वलिदान, परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउन; राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप समाजवादउन्मुख आर्थिक-सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा र  "स्वच्छ, समुन्नत र सुखी प्रदेशवासी" को लक्ष्य पूरा गर्ने सङ्कल्पका साथ, हामी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अघि बढिरहेका छौं । विभिन्न संबैधानिक, कानुनी र राजनितिक जङ्चर पार गर्दै निर्माण भएको यो संयुक्त प्रदेश सरकार अघि बढेको छ। 

यो केवल कोहि ब्यक्ति लाई राज्यका निकायमा जिम्मेवारी दिने हेतुले गरिएको कुनै राजनितिक हतखण्डा मात्रै होईन। सिङ्गो देश र  प्रदेशवासी जनताको चाहना बमोजिम अघि बढेको उच्च राजनितिक सहकार्य हो। 

माननीय सभामुखज्यु, 

प्रदेश वासी जनतामा ब्यप्त निराशा चिर्दै, भरोसा जगाउँदै अघि बढ्नु छ !

अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन नीतिगत सुधार गरी मुलुकको आर्थिक क्रियाकलापलाई तीव्रता दिन जरुरी  देखिन्छ। पुँजीगत सार्वजनिक खर्चको न्यूनता जस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालिक र मध्यकालीन लगानी र रोजगार मैत्री नीतिगत सुधारमा बाधा पुऱ्याउने विभिन्न कानुनहरु संशोधन गर्न पर्ने देखिन्छ । संघीय कानुनहरुले प्रभाव नपार्ने कानुन तथा नितिगत सुधारमा वर्तमान सरकारले अगुवाइ गरेर यस प्रदेश सभाले काम गर्नु पर्नेछ। 

सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रूपमा रहेको राजश्व र खर्चबीच बढिरहेको अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, लगानीका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने,विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने नीतिगत सुधारमार्फत् चलायमान बनाउन सके शिथिलतामा गएको अर्थतन्त्र लाई पुनः पुरानै लयमा फर्काउन सकिन्छ। हाम्रो संयुक्त सरकारले यो कामलाई पनि महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रथम आवधिक योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित दोश्रो  योजना प्रारम्भ गर्न पर्ने छ । यस आवधिक योजना आरम्भ गर्दा डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवं संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै दिगो विकास लक्ष्य हासिल गरी सम्मनजनक आय सहितको स्वच्छ, समुन्नत र सुखी प्रदेशवासी बनाउन छ। 

वित्तीय संस्थाहरू मुलतः सहकारी र लघुबित्तमा उत्पन्न समस्या समाधान गर्न नेपाल सरकार, नेपाल रास्ट्र बैंक र सरोकारवाला सगको सहकार्यमा तमाम सहकारी र लघुबित्त पीडितहरु लाई न्याय र सहकारी र लघुबित्त हरु लाई पनि संरक्षक गर्नु पर्ने छ। 

संघीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्ने । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, सुशासन प्रवर्द्धन गर्न, व्यावसायिक वातावरण निर्माणमा असहज र असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गर्ने । संगठन संरचनामा कायम रहेको दोहोरोपना हटाइ चुस्त र मितव्ययी संरचना निर्माण गर्ने राज्यका निकाय बीच अन्तर-समन्वय कायम गरी प्रविधि आधारित, सुधार - निर्देशित अनुगमन प्रणाली स्थापना गर्ने ।

समावेशिता, धर्मनिरपेक्षता सहित सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने अभिभारा यो संयुक्त सरकारको रहनेछ। 

प्रादेशिक संरचनाका सबै आयाममा महिलाहरूको न्यायोचित सहभागिता सुनिश्चित गर्ने शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायत महिलाका संविधानप्रदत्त हकको कार्यान्वयनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने,बालबालिका माथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचविखन, बलात्कार, बँधुवा श्रम, छुवाछूत, गुण्डागर्दी, लागु पदार्थ दुर्व्यसन, दाइजो प्रथा जस्ता सामाजिक विकृति र शोषण सारभूत रूपमा अन्त्य गरी सभ्य समाजको निर्माण गर्ने ।

दलित, मुसहर, पिछडा वर्ग, वादी, लोपोन्मुख तथा सिमान्तकृत अल्पसङ्ख्यक जातिलगायतको यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकार सुरक्षित गर्ने  जस्ता सामाजिक न्यायको प्रत्याभूति दिलाउन यो संयुक्त सरकार अर्जुनको दृस्टी रहनेछ। 

कोशी प्रदेशको भुगोलमा हुर्केका सबै खाले सभ्यता, भाषा, धर्म, संस्कृति र जातजातिको संरक्षण एवं विकास गर्ने विविधता र बहुलतालाई कोशी प्रदेशको सम्पदाका रूपमा विकास गर्दै अन्धविश्वास, रुढी, सामाजिक / जातीय विभेद, विकृति विसङ्गति एवं शोषण अन्त्य गर्ने अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सामाजिक सौहार्द्रता, जातीय सद्भाव र सांस्कृतिक सहचार्यका माध्यमबाट समुन्नत समाज निर्माण गर्ने अभिभारा पनि यो संयुक्त सरकारको काधमा छ। 

माननीय सभामुखज्यु, 

मेरो नेतृत्वमा नेपालको संविधानको धारा १६८(३) बमोजिमको सरकारले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था रहेन। तत्कालीन अवस्थामा मैले राजिनामा दिएर मार्ग प्रश्स्त गरेको हु । संविधान बमोजिम माननीय प्रदेश प्रमुखले धारा १६८(५) बमोजिमको सरकार आवहान गर्नु भयो र प्रदेश सभाको "प्रीम्याचोर डेथ" हुन हुन्न भन्ने कारणले हामी नेकपा(एमाले) संसदिय दलका तर्फबाट ३९ जना प्रदेश सभा सदस्यको समर्थनमा माननीय केदार कार्कीको नेतृत्वको सरकार गठनका लागि प्रक्रिया अघि बढाएकै हो। तर यो सरकारले ठिक ढङ्गबाट प्रदेशको आवश्यकता र प्रदेश वासीको मनोभावना मुखरित गर्न सकेन । त्यसै कारणले प्रदेश लाई सहि ढंगबाट अघि बढाउन मुलतः पहिलो शक्तिका रुपमा रहेको नेकपा(एमाले) र नेकपा(माओबादी केन्द्र) विचको छलफल र निकर्ष स्वरुप नेपालको संविधान, प्रचलित कानुन र स्थापित संसदिय मूल्यमान्यता बमोजिम आजको परिस्थिति र घटनाक्रम विकास भएको हो। यो न्यायिक परिक्षणको विषय हो भन्ने जिकिर गर्दै निवर्तमान मुख्यमन्त्री माननीय केदार कार्की सम्मानित सर्बोच्च अदालत पुग्नु भएको छ। हिजो मात्रै अल्दालतको जानकारी मैले पनि प्राप्त गरेको छु। म यो विषयमा धेरै जान चाहन्न्न। किनकी यो अदालतमा विचारधिन विषय बनेको छ। सम्मानित अदालतले गरेको आदेश र फैसला मान्नु पर्छ। संविधान वादमा विश्वास राख्ने भएकाले संबैधानिक ब्यवस्था र विधिशास्त्र अनुरुप हामिले चल्न पर्छ। तर म यति मात्रै यो सम्मानित प्रदेश सभा बैठक लाई भन्न चाहन्छु कि संविधान, कानुन र संसदिय परम्परा , अभ्यास लाई हामिले इन्कार गर्नु भनेको नेपाली जनताले ७ दशकको अथक संघर्ष बाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लाई मान्दिन, जान्दिन, चिन्दिन भन्नू हो। त्यसैले हामी यो विषलाई गम्भीरताका साथ लिएर अघि बढ्न सके मात्रै यो ब्यवस्था प्रतिको ईमानदारीता र जनता प्रतिको जवाफदेहिता प्रस्तुत गर्न सकिन्छ। 

मलाई विश्वास छ यस प्रदेश सभामा प्रतिनिधित्व गर्ने हरेक दलका प्रदेश सभा सदस्यहरुले मेरो नेतृत्वमा रहेको कोशी प्रदेश सरकारलाई विश्वासको मत दिएर मतको मात्रै होईन मनको सरकारका रुपमा हेर्नुहुनेछ। 

म रोस्टममा उभिएर यति भन्न सक्छु कि तपाईहरुको मतको सम्मान मात्रै होईन कि तपाईहरुले राख्नु भएको आशा, भरोसा र विश्वास लाई टुट्न दिने छैन। प्रदेश वासीको शिर कहिले झुक्न दिने छैन। 

अन्त्यमा, पुनः एकपटक सबै दलका प्रदेश सभा सदस्यहरू लाई आग्रह र अपिल गर्न चाहन्छु । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) वमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन हार्दिक अनुरोध गर्दछु। साथै, विश्वासको पक्षमा तपाईको दलको तर्फबाट दिनु भए‌को मतले प्रदेश संरचनाको स्थायित्व र दलिय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु।