चतरा  / बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलाई अभिनन्दन गरिएको छ । 

जगदगुरु बालसन्त मोहनशरण देवाचार्यले महाकुम्भ मेलाको मुख्य पण्डालमा आयोजित सम्मान अभिनन्दन कार्यक्रममा पूर्व मुख्यमन्त्री कार्कीलाई महाकुम्भ मेलाको श्रीवृद्धिमा गरेको योगदानको कदर गर्दै आइतबार अभिनन्दन गरिएको हो । 

पूर्व मुख्यमन्त्री कार्कीसहित प्रदेश सभा सदस्य ममता तामाङ, चिन्तन पाठक, गयानन्द मण्डल, इस्रायल मन्सुरी, रामदेव यादव, शोभा पालुङ्वा चेम्जोङ, सदानन्द मण्डल, नम्बरलाल धिमाललगायतलाई सम्मान गरिएको महाकुम्भ मेलाका महासचिव प्रह्लाद भट्टराईले जानकारी दिनु भएको छ । 

शास्त्रार्थ गरेर जगदगुरुको विभूषण प्राप्त गरी महाकुम्भ मेलाको जग नेपालमा जगदगुरु बालसन्तले स्थापित गरेको कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले बताउनु भएको छ । जगदगुरुप्रति कोशी प्रदेशकोतर्फबाट आदरभाव प्रकट गर्ने उहाँको भनाई थियो ।  कुम्भ सबै नेपालीको साझा गन्तव्य हो, यसको विकासका लागि ढिला भएकाले आत्मआलोचित हुनुपर्ने बताए ।

पूर्वमुख्यमन्त्री कार्कीले कुम्भ क्षेत्रको विकासमा आगामी वर्षको नीति, बजेटमा विशेष क्षेत्रका रुपमा विकास गर्न प्रतिबद्ध हुनुपर्ने बताए । उनले राज्यका सबै तहको सहयोगमा पूर्ण डिपिआर बनाएर पूर्वाधार निर्माण गर्ने बताए । वराहक्षेत्र चतराधामलाई पर्यटकीय गब्तव्य बनाउने प्रतिबद्धता जनाए ।

कोशी प्रदेशका प्रदेश सभा सदस्य चिन्तन पाठकले कोशी प्रदेशलाई उन्नत प्रदेश बनाउन, पहिचान र परम्परा विकास गर्न जगदगुरुको योगदानको चर्चा गर्नु भयो । कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरीले महाकुम्भ मेलामा मुस्लिम समुदायको समेत सद्भाव र सहयोग भएको बताउनु भएको छ । 

चतराधाममा पाँच वटा कुम्भ मेला लागिसकेको छ । गत चैत्र २७ गतेदेखि सुरु भई आगामी वैशाख २८ गतेसम्म महाकुम्भ मेला लाग्ने छ । बैशाख २६गते कुम्भस्नानका लागि उत्तम मानिएको छ ।