इलाम / इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१ को मतगणना सकिएको छ। सो वडाका तीन वटा मतदान केन्द्रका एक हजार पाँच सय ३८ मतगणना सकिएको छ। 

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिनुभएको छ । खड्काले छ सय ५७ मत प्राप्त गर्नु भएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले पाँच सय ३४ प्राप्त गर्नु भएको छ । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले एक सय ८७ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले एक सय १५ मत प्राप्त गर्नु भएको छ । 

विसं २०७९ सालको प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सो स्थानमा कांग्रेसका उम्मेदवारले आठ सय नौ मत प्राप्त गर्दा एमाले उम्मेदवारले चार सय ५७ मत प्राप्त गरेका थिए। एमालेको मत उक्त क्षेत्रमा बढेको छ । यस्तै २ नं. वडाको मत गणनामा सुहाङले ५३८ मत, खड्काले  ४९८ मत, थेगिमले १२६ र मिलनले  ९६ प्राप्त गर्नु भएको निर्वाचन कार्यलयले जनाएको छ । वडा नं १ र २ गणना गर्दा मुख्य प्रतिष्पर्धा नेपाली कांग्रेसका डम्बर खड्का र नेकपा एमालेका सहाङ नेम्बाङ बीच छ । खड्काको ८३ मतको अग्रता देखिएको छ । ३ नं. वडाको गणना जारी रहेको कार्यलयले जनाएको छ । 

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका थिए । मत गण्ना कार्य जारी रहेको छ । इलाम २ मा छ वटा पालिका पर्छन् ।