टि शर्ट र क्यालेण्डर लोकार्पण

काठमाण्डौं । बैशाख १९ गते मनाउन लागिरहेको १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा यातायात श्रमिकहरुका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले टि शर्ट लोकार्पण गरेकोछ । 

बैशाख १९ गते काठमाण्डौंस्थित रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शनीमार्गहुँदै भृकुटीमण्डपसम्म एक हजार पाँच सय यातायात श्रमिकहरु प्रदर्शनमा सहभागी गराउने तयारी सहित उपत्यकाको विभिन्न १२ स्थानमा कोणसभा समेत सम्पन्न गरिने संगठनले तयारी गरेकोछ । 

उपत्यकाको कलंकी, न्युरोड गेट, भक्तपुरको मध्येउपत्यका, कमलविनायक, काभ्रेको पनौति, धुलिखेल, शंखमुल, ललितपुरको लगनखेल, ललितपुरकै पुल्चोक, एयरपोर्ट, बुढानिलकण्ठ र नयाँ बानेश्वर संसदभवनको ३ नम्बर गेट लगायतका बसपार्कहरुमा कोणसभाहरु गरिने संगठनले तयारी गरेकोछ । 

शनिबार कोटेश्वरमा आयोजित अगुवा भेलामा मे दिवसका लागि टि शर्ट सार्वजनिक गर्दै मे दिवसलाई प्रभावकारी बनाउन विविध कार्यक्रमहरु सार्वजनिक गरिएको हो । 

मे दिवसको लोगो अंकित टि शर्ट संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, जिफन्टका उपमहासचिव कमला तामाङ्ग, संगठनका उपाध्यक्षहरु नवराज घिमिरे, विष्णु लामा, महासचिव केशव थापा लगायतका नेताहरुले टि शर्ट लोकार्पण गरिएको हो । 

उक्त कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटीले प्रकाशन गरेको नयाँ वर्ष २०८१ सालको भित्ते पात्रो समेत सार्वजनिक गरिएकोछ ।