काठमाण्डौं । कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गर्नु भएकाे छ । 

शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गर्नु भएकाे हो । 

२१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले पत्र बुझ्दै वार्षिक वजेटमा आयोजनालाई समेटिने बताउनु भयाे । 

२०६५/०६६ सालदेखि निर्माण प्रारम्भ भएको आयोजना अन्तर्गत ४ हजार घरमा धारा जडान गरिएको भएपनि पानी वितरण गर्न नसकिएको भरौल खानेपानी व्यवस्थापन समितिको अध्यक्ष हरी पौडेलले जानकारी दिनु भयाे। करिव ६० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम रोकिएको र करिव ४ करोड रकम जुटाउन सकिएको खण्डमा सबैलाई खानेपानी वितरण गर्न सहज हुने व्यवस्थापन समिति अध्यक्ष पौडेलले बताउनु भयाे । 

प्रदेशसभा सदस्य राई सहित नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा मजदुर नेता भीमज्वाला राई र नेकपा (एमाले) कोशी प्रदेश सदस्य मौसम राई समेत मन्त्रीलाई ध्यानाकर्षण गराउनु पुग्नु भएकाे थियाे ।