काठमाडौं । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताउनुभएको छ । 

बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताउनुभयो । ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उहाँले भन्नुभयो । 

इलाममा आफू माओवादी केन्द्र, नेकपा माओवादी र परिवार दलको साझा उम्मेदवार बन्दा यो चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताउनुभयो । युवा र अनुभवी नेताको योगबाट मात्र समृद्ध नेपाल बनाउन सकिनेमा उहाँले जोड दिनुभयो । 

नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उत्सृङ्खल भएर प्रस्तुत नहुन आग्रह गर्नुभयो । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उहाँले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । अब एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनताको बिचमा जानु पर्नेमा सुहाङले जोड दिनुभयो । 

इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ती बाँकी काम पुरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।