• भिष्मराज ओझा

कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरुको उपस्थितिमा ती  सम्झौता र समझदारीमा  हस्ताक्षर भएको हो ।

सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान सम्झौता तथा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी युवा तथा खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गर्नुभएको थियो ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभएको थियो ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । सरकारले उहाँको भ्रमणका अवसरमा वैशाख ११ गते नेपालभर सार्वजनिक बिदा दिएको थियो । कतारी अमिर थानी आजै दिउँसो काठमाडौँबाट प्रस्थान गरिसक्नुभएको छ ।

कतारका अमिरका लागि प्रधानमन्त्री दाहालले बुधबार दिउँसो द्वारिका होटलमा दिवाभोजको आयोजना गर्नुभएको थियो । कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो वैशाख ११ गते अपराह्न यहाँ आइपुग्नु भएको थियो । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता गर्नुभएको थियो । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गर्नुभएको थियो । कतारका  अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत तथा बिदाई गर्नुभएको थियो ।

भ्रमणका क्रममा नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि दुवै देशका तर्फबाट ‘कार्यसमूह’ गठन गर्ने समझदारी भएको छ । नेपाल र कतारबीच सन् २००५ मार्च २१ मा नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौता र त्यसको अतिरिक्त प्रोटोकल ९२० जनवरी २००८ मा हस्ताक्षर भएको० थियो । त्यसयता कतारमा नेपाली कामदारको संख्या बढ्दै गएको छ । हाल कतारमा रहेका झण्डै चार लाख नेपाली श्रमिकहरुको हक हित तथा रोजगारी सुरक्षाका विषयमा समेत सो कार्यसमूहले आवश्यक काम गर्नेछ । जसबाट त्यहाँ कार्यरत श्रमिकहरुको विद्यमान समस्या समाधान हुनेमा अपेक्षा गरिएको छ । साथै लगानी सम्मेलनको सम्मुखमा भएको कतारका अमिरको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा लगानीका दृष्टिले नेपालबारे सकारात्मक सन्देश प्रवाह भएको छ ।

नेपाल र कतारले सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । त्यस समयदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सम्मान, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ । नेपाल र कतारले धेरै अन्तर्राष्ट्रिय एजेन्डा र मुद्दाहरूमा समान धारणा राख्ने भएकाले संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन र अन्य अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले विश्व शान्ति, सुरक्षा र विकासका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

नेपालका तत्कालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सन् २००५ मार्च २१ मा कतारको भ्रमण गरी नेपाली जनशक्ति रोजगारीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यस्तै कतार पक्षबाट कतारका महान्यायाधिवक्ता डा अल बिन फेताइस अल–मरीले सन् २०१४ जुलाई १७ र १८ मा नेपालको भ्रमण गर्नुभएको थियो ।

दुवै देश प्राकृतिक स्रोतसाधनले सम्पन्न भएकाले व्यापार, लगानी, कृषि, पर्यटन तथा जनशक्ति उपयोगका क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने प्रशस्त सम्भावना रहेको छ । साथै, नेपाल पर्यटन, व्यापार र लगानीको अवसरको गन्तव्यको रूपमा मनपर्ने देश भएकोले नेपाल र कतार दुवैले तुलनात्मक लाभ हुने क्षेत्रमा आर्थिक सम्बन्धलाई बढावा दिनुपर्छ । नेपाल र कतारबीच सहकार्य गर्ने महत्वपूर्ण क्षेत्र पर्यटन हो ।