इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा एमालले पढेलेखेको काम गर्न सक्ने युवालाई उठाएको बताउनुभएको छ ।  
इलाम क्षेत्र नम्बर २ को मंगलबारेमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेले योग्य उम्मेदवार उठकै कारण माओवादी केन्द्र, नेकपा माओवाद तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेका बताउनुभयो । ‘ पढेलेखेको विद्वान युवा, १८ घण्टा काम गर्न सक्ने, एक पैसा तलमाथि भ्रष्टाचार नगर्ने, त्यस्तो नेता हामीले खडा गरेका छौँ’, ओलीले भन्नुभयो । 
सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले एमालेका उम्मेदवारलाई समर्थन गरेका ओलीले बताउनुभयो । इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिएको बताउँदै ओलीले अब जितेर जाने उम्मेदवारले पनि त्यतिकै योगदान देश र जनतालाई गर्ने ओलीले दाबी गर्नुभयो । 
ओलीले इलामको विकासको जिम्मा एमालेले लिने बताउनुभयो । ‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु, यहाँको विकासको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्’, उहाँले भन्नुभयो । 
पैसा कमाउने हो भने ओरालो र उकालो दौडनु नपर्ने ओलीले बताउनुभयो । सोफामा बसेर उपरखुट्टी लगाएरै पैसा कमाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । सुहाङ नेम्वाङ समृद्धिको सपना पुरा गर्न उकालो र ओरालो दौडिएको उहाँले बताउनुभयो । इलामा बनाउने अभियानलाई पूर्णता दिन सुहाङ हिँडेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले इलामबाट सुहाङले चुनाव हार्दा सुहाङलाई होइन इलामलाई घाटा पर्ने बताउनुभयो । 
ओलीले सांसद हुने कुरा भन्दा पनि देश बनाउने कुरा प्रमुख भएको बताउनुभयो । ओलीले इलाम आउँदा आफू सधैँ सुवाससँगै आउने गरेको भए पनि अहिले सुवासको अनुपस्थितिमा उहाँको उद्देश्य पुरा गर्ने सङ्कल्पका साथ इलाम आएको बताउनुभयो ।  
ओलीले एमालेले सबै धर्म, संस्कार, संस्कृति र समुदायको सम्मान गर्ने बताउनुभयो । ‘आफ्नो धर्म के हो पालना गर्नु, अरूलाई किन हेला गर्नु ?’ उहाँले भन्नुभयो । 
एमाले सामाजिक सद्भाव कायम र सामाजिक समानताको अभियानमा लागेको उहाँले प्रष्ट पार्नुभयो । सबै धर्म भाषा भाषी, संस्कृतिको संवर्द्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुनेमा उहाँले जोड दिनुभयो ।