धरान  / कतिपय विद्यालयहरु तथा संस्थाहरु ले कुनै स्वीकृत नै नलिइ जताभावी व्रिजकोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालन गरेको भन्दैं नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चलले ध्यानाकर्षण भएको जनाएको छ । 

व्रिजकोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालन ऐन कानुनबारे अवगत गराउदै सोमबार संघले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र समेत बुझाएको छ । समाजिक विकास मन्त्रालय, कोशी प्रदेश, विराटनगरले जारी गरेको व्रिजकोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालन सम्बन्धि निर्देशिका २०७९ को परिच्छेद ३ को दफा ३ को उपदफा १, २ र ३ बजोजिम व्रिजकोर्स तथा भाषा शिक्षण कक्षा सञ्चालन गर्दा अनिवार्य रुपमा मन्त्रालयको स्विकृति लिनु पर्ने ब्यवस्था रहेको छ । तर कतिपय संस्था र कक्षा १ं२ सञ्चालन गरिरहेका विद्यालयहरुले समेत स्विकृति नलिई कार्यक्रम सञ्चालन गरेको पाईएकोले स्विकृति लिएर मात्र कार्यक्रम सञ्चालन गर्न संघले ध्यानाकर्षण गराएको छ । 

संघ अध्यक्ष हेन जीवन निरौलाले जारी गरेको ध्यानाकर्षण पत्रमा मन्त्रालयको सुचनाको वेवास्ता गर्दै नियम र विधि विपरित स्विकृति नलिई व्रिजकोर्स तथा भाषा शिक्षण कक्षाका कार्यक्रमहरु सञ्चालन गरिरहेको पाईएको उल्लेख गर्नु भएको छ । 

यस विषयमा सामाजिक विकास मन्त्रालयले २०८० चैत्र १५ गते सूचना जारी गरि स्वीकृत लिएर मात्र कक्षा संचालन गर्न जानकारी गराएको थियो ।