धरान / सुनसरीकाे दक्षिणी क्षेत्रमा हुलदंगा भए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। 

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा शुक्रबार दिउसाे निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत कर्फ्यु आदेश जारी गरिएकाे हाे । 

कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी गरेर चल्न दिने सूचनामा उल्लेख गरिएको छ ।

सुनसरी दक्षिणवर्ती क्षेत्र भुटाहामा दुई समूहबिचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यु लगाइएको हो। 

स्थितिलाई नियन्त्रणमा लिन  प्रहरीले ८० राउन्ड हवाई फायर गरेको छ । ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनु भयाे ।