धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेश सरकारको सहकार्यमा कोशी प्रदेशका पहाडी जिल्लाका पाँच वटा जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु गरेको छ । 

प्रतिष्ठानमा बिहिबार आयोजित एक कार्यक्रम बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले उक्त टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको छ ।  प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोशी प्रदेश सरकारको संयुक्त सहकार्यमा संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङको जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा सरु गरेको  प्रतिष्ठानका सहप्रवक्ता डा. अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकेको विशेषज्ञ सेवा प्रदान गर्ने यो कार्यक्रम सुरु गरिएको मन्त्री सुनुवारले बताउनु भयो । उक्त टेलिमेडिसिन कार्यक्रमले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत सेवाग्राहीहरुले प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूसँग सम्पर्क स्थापित गर्न सक्ने बताइएको छ ।

टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेश भरीका स्वास्थ्य संस्थाहरुमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद जानकारी दिनुभयो । 

कार्यक्रममा ईहेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका फोकल पर्सन प्राडा. नरेन्द्र भट्ट, टेलिमेडिसिन कार्यक्रमका मेडिकल कोअर्डिनेटर डा. प्रमेन्द्रप्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियाे ।