धरान । ट्याम्पो र इलेक्ट्रिक रिक्सा आयातलाई नियन्त्रण गर्न नसक्दा धरानको ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेकाले नयाँ दर्तालाई तत्काल रोक्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभएकोछ । 

करिव चार हजारको संख्यामा ट्याम्पो र पाँच हजार हाराहारी इलेक्ट्रिक रिक्सा रहेको धरानमा पाँच सय बस, ३ सय बढी साना सवारीसाधन मात्रै रहेको धरानको बसपार्क तथा पिक एण्ड ड्रपले यतिको संख्यामा सवारीसाधनहरुको भार थेग्न नसक्ने अध्यक्ष राईले बताउनुभएकोछ । 

शनिबार धरानमा कार्यरत ट्याम्पो तथा इलेक्ट्रिक रिक्सा चालकहरुको भेलालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राईले हाल धरानमा रहेका ट्म्पो तथा इलेक्ट्रिक रिक्सालाई सूचिकरण गर्दै नयाँ दर्ता तथा विक्रि वितरण प्रकृया बन्द गर्नुपर्ने बताउनुभयो । मूख्य चुनौती हाल सञ्चालनमा रहेका सवारीसाधनहरुलाई व्यवस्थापन हो त्यसका लागि नयाँ दर्तालाई रोक्नुपर्छ राईले भन्नुभयो । 

धरान उपमहानगरपालिकाका विभिन्न वडा कार्यालयहरु, ट्राफिक प्रहरी कार्यालय, मजदुर र व्यवसायीका प्रतिनिधिहरुको सहकार्यमा प्रत्येक चोकहरुमा पार्किङका लागि स्थान निर्धारण गर्दै संकेत बोर्डको व्यवस्था गर्नुपर्छ राईले भन्नुभयो । अन्य सरोकारवालाहरुबाट यस कामको थालनी नभए संगठनको तर्फबाट सरोकारवालाहरुसंग सहकार्यगरेर व्यवस्थापनको काममा संलग्न हुने समेत राईले बताउनुभयो । 

धरानमा सञ्चालन भइरहेका ट्याम्पो र इलेक्ट्रिक रिक्साको नियमन र वास्तविक तथ्याङ्कका लागि नगरपालिकाले जारी गरेको नम्बर सहितको स्टिकर केही संघ संगठनहरुले दुरुपयोग गर्दै चालकहरुबाट अनाधिकृत रकम असुल गरेकोप्रति राईले विरोध जनाउनुभयो । नगरपालिकाले सम्बन्धीत चालकहरुलाई कार्यालयमा बोलाई दर्ता गरेर स्टिकर प्रदान गर्नु पर्नेमा प्रति स्टिकर ५० रुपैया लिएर एकमुष्ट स्टिकर हस्तान्तरण गरेका कारण ति संघ संगठनहरुले १ हजार ४ सय रुपैयासम्म लिएर स्टिकर विक्रि गरेकाले त्यसको खोजी हुनु पर्ने अध्यक्ष राईले बताउनु भयो । 

राईले भन्नुभयो कुनकुन संगठनहरुलाई त्यस्तो स्टिकर दिइएको थियो ति संघ संगठन र स्टिकर दिने कर्मचारीलाई कारबाही गर्नु पर्ने राईले बताउनुभयो । 

भेलामा चालकहरुले पार्किङको समस्या, ट्राफिक व्यवस्थापनको समस्या विकराल रहेको र स्थानीय सरकारले समेत समस्यामा ध्यान नदिँदा पेशा संकटमा परेको र गरीखान समस्या भएको कुरा अध्यक्ष राईलाई सुनाएका थिए । 

भेलाले पार्किङसमस्या, दर्ताको समस्या, भाडा दररेटको समस्या, कानुनी समस्याहरु र ट्राफिक व्यवस्थापन लगायतका समस्याहरुलाई सुत्रबद्धगरी सरोकारवालाहरुसंग समन्वय गरेर समस्याको समाधान खोज्ने उदेश्य सहित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याम्पो इकाई कमिटी गठन गरेकोछ । 

नौ सदस्यीय कमिटीमा अध्यक्ष चन्द्रबहादुर राई, उपाध्यक्ष गौतम राई, सचिव घनश्याम आचार्य, सहसचिव सोभित राई, कोषाध्यक्ष दलबहादुर तामाङ र सदस्यहरुमा लक्ष्मण गजमेर, श्याम राई, कुमार राई र तिर्थ खड्का रहेकाछन् । त्यस्तै सल्लाहकारमा गोपी योगी रहनुभएकोछ । 

भेलाको अध्यक्षता संगठन धरान उपमहानगर अध्यक्ष किरण थापाले गर्नुभएको थियो । भेलामा संगठनका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज लक्ष्मी बाँनिया, कोशी प्रदेश सदस्य दुर्गा खतिवडा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन धरान अध्यक्ष गोपी योगी, प्रेस चौतारी नेपाल सुनसरी उपाध्यक्ष विकास चाम्लिङलगायतको उपस्थिति रहेको थियो ।