धरान /  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको लामो समयदेखि निर्माणधिन अवस्थामा रहेको ४०० शैयाको मातृशिशु स्वास्थ्य केन्द्र(एमसिएच)को निर्माण कार्य सम्पन्न गरी ६ महिनाभित्र संचालनमा ल्याउने प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताउनु भएको छ । उहाँले प्रतिष्ठानलाई ६ महिना भित्र निर्माण कम्पनिले हस्तान्तरण गर्ने र संचालनमा ल्याइहाल्ने बताउनु भएको छ । 

शुक्रबार उपकुलपति गिरी र नेपाली कांंग्रेसका स्थानीय नेतृत्वहरु वीच भेटघाट कार्यक्रममा यस्तो जानकारी दिनु भएको हो ।  डा. गिरीले फार्मेसीलाई छिट्टै पूर्ण सञ्चालनमा ल्याइने, प्रतिष्ठानको सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन तथा चुहावट रोक्न अनुगमन समिति बनाउने प्रतिवद्धता बताउनु भयो ।

यस्तै एमविविएस शैक्षिक कायंक्रमा स्थानीय कोटा निर्धारण गर्न आफु सकरात्मक रहेको भन्दै प्रतिष्ठानको स्वायत्तता पुनः प्राप्तीका लागि आवश्यक पहल, समन्वय र सहजिकरण गरिदिन समेत आग्रह गर्नु भएको थियो । उहाँले कांग्रेसका प्रतिनिधि टोलीले राखेका विषयवस्तुको स्वागत गर्दै सल्लाह, सुझाव, सहयोग, खबरदारी र ध्यानाकर्षण निरन्तर आवश्यक रहेको बताउनु भयो । 

प्रतिष्ठानमा एमआरई मेशिन, भिडियो एक्सरे मेशिन, इन्डोस्कोपी मेशिन, आईसियु र  डायलाइसिस् वेडको अभाव हुँदा नागरिकले सास्ती भोग्न परेको, प्रतिष्ठानको फार्मेसीमा औषधि नपाईने, अधिकांश डेन्टल चेयर्स काम नलाग्ने भएको, प्रतिष्ठानको शौचालयहरु अति दुर्गन्धित र फोहोर भएको, प्रतिष्ठानमा खानेपानीको समस्या विगत लामो समयदेखि समाधान नभएको, प्रतिष्ठानको आकस्मिक तथा नियमित अस्पताल सेवाहरु प्रभावकारी नहुनुका साथै कतिपय शिक्षक कर्मचारीहरुले विभिन्न ल्याव तथा रेडियोलोजी सेवाहरु लिन विरामीलाई खुलेआम वाहिर पठाउने गरेको तथा वाहिर सञ्चालित सेन्टरहरुमा लुकिछिपी काम गर्ने गरेको, प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको नियमित तवरले वृत्तिविकास नहुने गरेको, राम्रा चिकित्सकहरु पलायन हुने गरेको, शैक्षिक कार्यक्रमहरुमा गुणस्तर खस्कदै गएको, संचालक परिषदको बैठक तथा दीक्षान्त समारोह नियमित नहुने गरेकोे, सुरक्षा र सरसफाई प्रभावकारी नभएको जस्ता जनगुनासाहरुवारे कांग्रेस प्रतिनिधि मण्डलले उपकुलपतिको ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नेतृत्वमा गएको प्रतिनीधि मण्डलमा कोशी प्रदेश सदस्य अन्जना राई, सुनसरी जिल्ला सह–सचिव गणेश सुब्बा, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सह–सचिव सुमित राईलगायतको उपस्थिति रहेको थियो ।