काठमाडौँ  /  सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ ।

बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभयो । बयान सकिएसँगै उहाँलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ पर्नुभएका उहाँमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ । आज थपिएको म्याद सकिने अन्तिम दिन हो । उहाँमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट ९भेप० मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । 

अघिल्लो पटक सिआइबीले उहाँमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा आजै सिआइबीले जिल्ला सरकारी वकीलको रोहबरमा बयान लिइएको छ । बयान दिएपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गर्नुभएको छ । 

नर्भिक अस्पतालमा उपचाररत महरा पहिलो दिन बयानका क्रममा भक्कानिनु भएको थियो । उहाँ बयान सकिएपछि कुराकानी गर्ने क्रममा कस्सिएर रोएको एक अधिकारीले बताउनु भयो । 

‘उहाँ कुरा गर्दागर्दै भक्कानिनु भयो । नखाएको विष लाग्यो भन्दै रुनुभयो’, ती अधिकारीले भन्नुभयो। सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ पर्नु भएको थियो । भन्सारमा अड्किएको इलेक्ट्रिक सिगरेट–भेप छुटाउन महराको मोबाइलबाट फोन गएको देखिएपछि उहाँलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने तर सीआईबीले त्यतिबेला नल्याएको आयोगको दाबी छ । काठमाडौं जिल्ला सरकारी वकिल स्रोत आयोगले परिस्थतिजन्य प्रमाणका आधारमा महराको संलग्नता औँल्याएको बताउनुभयो । 

‘उहाँको नम्बरबाट फोन गरेको बाहेक अन्य कुनै प्रमाण भेटिएको छैन’, सरकारी वकिल कार्यालय स्रोतले भन्यो । 

सीआईबीका अनुसार महरा दैनिक ८ किसिमका औषधिहरु सेवन गर्ने गर्छन् । ‘टीभीदेखि मस्तिष्कको नसासम्ममा समस्या रहेछ’, सीआईबी स्रोतले भन्यो ।

यही प्रकरणमा महराका छोरा राहुल यसअघि नै पक्राउ परेर हाल पुर्पक्षका लागि थुनामा छन् । महरा चैत ५ गते कपिलबस्तुबाट पक्राउ परेका थिए । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिन र उपचारको व्यवस्था मिलाउन अदालतले भनेपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ । प्रहरीले बयानका लागि ल्याउने र त्यसपछि अस्पताल पुर्याउने काम गरिरहेको छ । उहाँमाथि अनुसन्धान भइरहेको विषयमा सिआइबीले हिजोमात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवायलमार्फत जानकारी गराएको थियो ।