धरान  /  यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागले एक दिवसीय अन्तर्राष्ट्रिय डायबिटिस र एन्डोक्रिनोलजी सम्मेलन सम्पन्न गरेको छ ।  

बालबालिकाहरुमा हुने मधुमेह रोगबारे जनचेतना तथा यसका नयाँ प्रवृत्तिबारे जानकारी गराउन सोमबार  बाल रोग विभागले सम्मेलनको आयोजना गरेको हो । विभागीय प्रमुख प्राडा. निशा केशरी भट्टको अध्यक्षतामा सम्पन्न सम्मेलनमा मधुमेहबारे विज्ञ जापानी चिकित्सक प्राडा तात्सुको उराकामी बालबालिकामा हुने मधुमेहको टाइप १ र टाइप २ बारे अवगत गराउनु भएको थियो । 

सम्मेलनमा विभागीय प्रमुख प्राडा। निशा केशरी भट्ट, मेडिसिन विभाग प्रमुख डा. रविन मास्के, डा. अरुणकुमार सिंहलगायतले मधुमेह रोगकोको बारे अवगत गराउनु भएको थियो ।  

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार मधुमेह भएका मानिसको सङ्ख्या सन् १९८० मा १०.०८ करोड थियो । सन् २०१४ मा त्यो बढेर ४२.२० करोड पुगेको छ ।

सन् १९८० मा विश्वभरि १८ वर्षमाथिका वयस्कमध्ये ५ प्रतिशतभन्दा कमलाई मधुमेहको समस्या थियो । तर सन् २०१४ त्यो दर ८.५ प्रतिशत पुग्यो ।

कार्यक्रमका संयोजक डा. अरुणकुमार सिहंले सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा प्राडा पूर्व डिन निलम्बर झा, डा. बाल रोग सर्जन राजेस साह, न्युरो सर्जन डा.आलोक दाहाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा मधुमेहका विरामीहरुसँग पनि छलफल गरिएको थियो ।