धरान /  विगत ६ दिनदेखि अवज्ञा आन्दोलनमा रहेका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान फार्मेसीमा कार्यरत फार्मेसी सहायक कर्मचारीहरु उधारो सहमतिमा काममा फर्किएका छन् । 

फार्मेसी सहायकहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै भविष्यमा आफुहरुको माग सुनुवाई हुने भन्दैं. उनीहरु आजैदेखि काममा फर्किएका हुन । काममा फर्कनु अघि उनीहरुले गरेको पत्रकार सम्मेलनमा फार्मेसीमा भएको विभिन्न ४ बुँदे मागहरु पनि सार्वजनिक गरेका छन् । यसअघि उनीहरु फागुन २७ गतेदेखि सेवा रोकेर अवज्ञा आन्दोलनमा थिए । प्रतिष्ठानको अस्पतालमा विगत ६ बर्षभन्दा बढी समयदेखि कार्यरत रहेपनि हालसम्म केटिएम सेक्युरिटी सर्भिस अन्तर्गत राखेर काम गराइरहेको उनीहरुको गुनासो छ । शुरुवातमा केही समयपछि अस्पतालकै कर्मचारीकोरुपमा नियुक्ती दिने आश्वासन दिएपनि हालसम्म पुरा नभएकोले आन्दोलनमा उत्रिएको उनीहरुको भनाई छ । 

प्रतिष्ठानसँग ६ बर्ष अघि केटिएम सेक्युरिटी सर्भिसले सम्झौता गरि कर्मचारी खटाउदैं आएको छ । केटिएमले  प्रतिष्ठानको फार्मेसीमा ३६ जना कर्मचारीको आवश्यकता भएपनि १८ जनाले काम चलाउदैं. आएको छ । काम गरिरहका कर्मचरीहरुको श्र।म शोषण गदैं आएको उनीहरुले बताएका छन् ।  पछिल्लो समय ६ महिनादेखि तलब नदिएको र केही दिनअघि मात्र ३ महिनाको तलब घटाएर दिएको उनीहरुको गुनासो छ । 

फार्मेसी सहायकहरुले काममा फर्किने घोषणा गर्दै प्रतिष्ठानको फार्मेसीमा सम्पुर्ण आवश्यक औषधीहरु उपलब्ध गराउन माग गरेका छन् । औषधीहरु पर्याप्त नहुँदा सर्वसाधारण सेवाग्राही, विरामी र आफन्तहरु कार्यरत कर्मचारीलाई दोष दिने, गालीगलौज गर्ने र अस्पताल बाहिरका मेडिकलसँग मिलेमतो रहेको आरोप लगाउने गरेको उनीहरुले गुनासो गरेका छन् ।

यस्तै, फार्मेसी सञ्चालन भएदेखि १३ हजार ५ सय तलबबाट शुरु भएको र गत बर्षको मासिक २२ हजार ५ सय तलब बुझेपनि हाल ३ महिनाको तलब घटाएर १६ हजार ७९४ मात्र दिएर श्रमशोषण गरेको पत्रकार सम्मेलनमा उनीहरुले जानकारी दिए । राज्यले फार्मेसी सहायकहरुलाई पाँचौ तह अन्तर्गत राखेकोले सोही तह अनुसार तलब, सेवा सुविधा उपलब्ध गराउन पनि उनीहरुले माग गरेका छन् ।  

प्रतिष्ठानकै स्थायी जनशक्तिकोरुपमा नियुक्ती गराउन पनि उनीहरुले माग गरेका छन् ।  अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को दफा १० मा अस्पतालले फार्मेसी सञ्चालनको लागि स्थायी जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । सोही निर्देशिकालाई टेकेर आफुहरुलाई प्रतिष्ठान माताहतमा राख्न उनीहरुको माग छ । 

केटिएम सेक्युरिटी र प्रतिष्ठानले आगामी दिनमा आफुहरुले उठाएका मागको सम्बोधन गर्ने भने पछि काममा फर्किएको मनिता राईले पत्रकारसम्मेलनमा जानकारी गराउनु भयो । नेपाल फार्मेसी एसोसिएसनकी कोशी प्रदेश प्रतिनीधि संगिना चौधरीले उनीहरुको मागका विषयमा अस्पताल र केटिएमसँग छलफल भइरहेको बताउनु भयो ।