धरान /  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मजदुरमैत्री नभएको भन्दै ट्याक्टर व्यवसायीहरुले उपमहानगरपालिका घेराउ गरेका छन् । विरोधमा विहीबार विहानैदेखि सयौको सङ्ख्यामा ट्याक्टरहरू धरान उपमहानगरपालिका अगाडि, चतरा लाइनमा राखेर चक्का जाम गरेका छन् ।

चक्काजामको कारण धरान–१२ चतरा लाइनमा ट्राफिक कठिनाइ भएको छ । उपमहानगरपालिका गेटैमा ३ वटा ट्याक्टरले बाटो जाम गरेकोले मोटरसाइकल समेत कार्यालयमा प्रवेश गर्न अवरोध भएको थियो । 

व्यवसायीले मेयर हर्क साम्पाङले चोरको संज्ञा दिएको आरोप लगाएका छन् । ट्र्याक्टर मजदुरले मेयर साम्पाङसँग गरिखाने बाटो देखाइदिन माग गर्दै सडकमा चक्काजाम गरी विरोध गरेका हुन ।

सङ्घर्ष समिति सचिव नरध्वज तामाङले राज्यलाई कर तिर्न हामी तयार छौँ भन्दा पनि चोरको संज्ञा दिएकोमा हाम्रो आपत्ति रहेको बताउनु भयो । 

मेयर साम्पाङको आदेशमा नगर प्रहरीले पक्राउ गरेको ३ वटा ट्याक्टर २४ घण्टा सम्म नछोडेपछि धरानका ट्र्याक्टर व्यवसायी आन्दोलित भएका हुन । उनीहरूले राजश्व तिरेर ढुङ्गा, मिक्स गिट्टी लगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै उपमहानगरका ट्याक्टर राखेका छन् ।

धरान ट्र्याक्टर व्यवसायी सङ्घ सर्घष समितिले शान्तिपूर्ण आन्दोलन स्वरूप ट्याक्टर राखेर धर्ना दिदैं छलफल वार्ता नभए चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । तामाङले मेयर साम्पाङसँग पटक पटक भेट्दा मेयरले व्यवसायीलाई जबरजस्ती चोर बनाएकाले अबको वार्तामा मेयरको मात्र एकल निर्णय मान्य नहुने बताउनु  भयो । स्थानीय व्यवसायीसँग सिङ्गो कार्यपालिकाको बैठकले निर्णय मात्र मान्य हुने भन्दै अबको वार्ता छलफल सम्पूर्ण कार्यपालिका सदस्यहरूसँग मात्र हुने सचिव तामाङको भनाई छ ।

मजदुर र मालिक बाच्ने गरी खोलाबाट ढुङ्गा, गिट्टी बालुवा निकाल्न पाउनु पर्ने उनीहरुले माग गदै आएका छन् । 

मेयर साम्पाङले फेसबुक मार्फत आफ्ना समर्थकहरूलाई उपमहानगरपालिकामा बोलाए

यता मेयरसाम्पाङले भने आफ्नो समर्थकहरुलाई विहान ११ बजे उपमहानगरपालिका बोलाउनु भएको छ । खोला खन्न हुदैन भन्नेहरु उपमहानगरमा उपस्थित हुन फेसबुक मार्फतउर्दी जारी गर्नु भएको छ । 

मेयर साम्पाङको आदेशमा नगर प्रहरीले दुई दिन अघि पक्राउ गरेको ३ वटा ट्याक्टर नछोडेपछि धरानका ट्याक्टर व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले राजश्व तिरेर ढुङ्गा, मिक्स गिट्टी लगायत नदीजन्य पदार्थ निकासी गर्न दिनुपर्ने माग गर्दै उपमहानगरका ट्याक्टर राखेका छन् ।

आज बिहान देखी ट्याक्टर मजदुरहरू उपमहानगरपालिका गटे अगाडी बेल्चा गैँती हम्बर राखेर ट्याक्टर व्यवसायीसँगै धर्नामा उत्रिएका छन् ।

मेयरले समर्थकहरुलाई पनि उपमहानगर बोलाए पछि मुडभेड हुने सभ्भावना बढेको स्थानीय बताउछन्  । सामाजिक सञ्जालमा ट्याक्टर व्यवसायीको समस्या हल गर्न उपमहानगरलाई विभिन्न व्यक्ति राजनीतिक दलहरुका नेताले सुझावसमेत दिएका छन् । उपमहानगरका प्रवक्त तथा १७ न. वडाध्यक्ष सूर्यबहादुर भट्टराईले फेसवुक मार्फत नै समस्या समाधानका लागि मेयर जिम्मवार भएको बताउनु भएको छ । मेयरको द्वन्द्व बढाउने काम उचित नभएको बताउनु भएको छ ।