धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ऐन र नियमावली विपरीतबाहिर निजी क्लिनिक सञ्चालन गरेको समाचार प्रकाशित भएपछि पत्रकारलाई सामाजिक सञ्जालमा जताभावी लैख्ने चिकित्सक विरुद्ध प्रहरीमा उजुरी परेको छ ।  

नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा आइतबार डा. रोसन कलवार विरुद्ध इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय धरानमा उजुरी दिइएको हो । पत्रकार महासंघ सुनसरीले विपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई पनि सोही विषयमा ध्यानाकर्षण पत्र पनि बुझाइएको पत्रकार महासंघ सनुसरीका अध्यक्ष जनकऋषि राईले जानकारी दिनु भयो । पत्रकार रश्मी प्रधान र खिलानाथ बिकले डा.कलवारका विषयमा समाचार लेख्नु भएको थियो । 

समाचार प्रकासन भए पछि समाचारका विषयमा चित्त नबुझ्दा सम्बन्धित निकायमा उजरी गर्ने प्रावधान हुँदाहुँदैं डा. कलवारले सामाजिक सञ्जालमा पत्रकारको मानमर्दन हुने गरि लेख्नु भएको उजुरीमा उल्लेख छ ।  

उहाँले समाजिक सञ्जालमा लेखिएका विषयमा साइबर अपराधको कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिने पत्रकार महासंघ सुनसरीले जनाएको छ । 

पत्रकार महासंघले आइतबार नै प्रतिष्ठानका उपकुलपति डा.गिरीलाई पनि ध्यानाकर्षण गराएको छ । उपकुलपति डा.गिरीले यो घटनालाई गम्भीरतापुर्वक लिएको र चाडै निर्णय लिने बताउनु भएको छ । 

 प्रतिष्ठान स्वायत्त एवं नन्प्राक्टिसिङ स्वास्थ्य संस्था भएकाले नीजि स्तरमा काम गर्न ऐनले नदिने प्रतिष्ठानले यस अघि नै ध्यानाकर्षण गराएको थियो । यहाँका डाक्टरहरुलाई तलबसँगै आकर्षण भत्ता, विदेशमा गएर अनुभव आदनप्रदानको अवसरलगायत पेइङको पनि व्यवस्था गदैं आएको छ ।

प्रतिष्ठानका डाक्टर, कर्मचारीले कार्यालय सम्बन्धी कामबाहेक बाहिर प्राइभेट प्राक्टिस गर्न प्रतिष्ठानको ऐन २०४९ को दफा १२ को उपदफा २ र नियमावली २०५५ को नियम १०.२६ को उपनियम ४ ले रोकेको छ ।