धरान  / नेपाल चिकित्सक संघको ७४ औं स्थापना दिवसको अवसरमा नेपाल चिकित्सक संघ धरान शाखाले अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आइतबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान परिसरमा समाजका लागि चिकित्सक, चिकित्सकका लागि समाज भन्ने मुल नाराका साथ स्थापना दिवस मनाएको हो । 

केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको स्वागत गदैं प्रतिष्ठानका बरिष्ठ प्राध्यापक तथा कर्णाली स्वास्थ्य प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्राडा निलाम्बर झाले उपस्थितहरुलाई स्वागत गदैं समाजमा घुलमिल हुन प्रतिष्ठानले गदैं आएको समाज अध्ययनबारे अवगत गराउनु भएको थियो । चिकित्सा शिक्षा अध्ययनका लागि भर्ना भएदेखि समुदायमा घुलमिल हुन गाउँ पठाउने गरिएको उहाँले बताउनु भयो । 

कार्यक्रममा विपी प्रतिष्ठानका समस्या र यहाँका बेथितिबारे राजनीतिक दलका नेताहरुले सुझाव दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भने विपी प्रतिष्ठान नगरपालिकालाई जिम्मा लगाउनु पर्ने कुरा फेरि दोहोर्‍याउनुभएको थियो । 

सरकारले प्रतिष्ठान चलाउन नसक्ने भए धरान उपमहानगरपालिकालाई जिम्मा दिनु भनी ३ पटक पत्र पठाएको तर जवाफ नआएको भन्दै उहाँको मागलाई सरकारले सम्बोधन गर्नु पर्ने बताउनु भयो । 

सरकारले कक्षा १२ सम्म शिक्षलयहरुको संचालनका जिल्ला स्थानीय तहलाई दिएको छ । तर विश्वविद्यालयहरु चलाउने नगरपालिकाको अवधारणा छैन् ।

उपमेयर आईन्द्रबिक्रम बेघाले प्रतिष्ठानको नेतृत्वलाई सम्बोधन गर्दै अप्रत्यक्ष रूपमा नगर प्रमुखसँगको असन्तुष्टि जनाउनु भएको थियो । 

जुनसुकै घर परिवार सघसस्था र सरकार सञ्चालन गर्न सबै तह तप्का र ठाउँको जिम्मेवार व्यक्तिको भूमिकालाई जोडेर लगियो भने मात्र संस्था राम्रो हुने उहाँले बताउनु भयो । 

जसपा नगर अध्यक्ष ताजुव लिम्बुले विपी प्रतिष्ठान जोगाउन दलहरूको ठुलो भूमिका रहेको बताउदैं विपीको बेथिति र परिस्थितिसँग जुध्न नसक्नु दलहरूको कमीकमजोरी रहे पनि दलहरूको सहयोग बिना विपीको समस्या कसैले समाधान गर्न नसक्ने बताउनु भएको थियो । 

इलाका प्रहरी धरान डिएसपी नवराज मल्लले चिकित्सकहरू सामाजिक दायरामा बसेर जनतालाई सेवामा दिनुपर्ने कर्तव्य र अधिकार भएको बताउनु भयो । छिटो कम खर्चिलो र गुणस्तरीय सेवा जनताको चाहना भएकोले त्यसलाई पुरा गर्ने चिकित्सकहरूको प्रमुख जिम्मेवारी भएको मल्लले बताउनु भयो । 

नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष कोशी प्रदेश संयोजक डा. बिबेश आचार्य, सङ्घका निवर्तमान अध्यक्ष डा.राजु रिजाललगायतले शुभकामना दिनु भएको थियो । 

संघका अध्यक्ष डा. रोसन शाह कलवारले समाज र चिकित्सकविचको सम्बन्ध समधुर बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । शिक्षाको सिद्धतान्त अनुसार जति विज्ञ भए पनि मानिस सिकिरहेकै हुन्छ । चिकित्सकहरु पनि जहिले अभ्यास मै हुन्छन् । आफ्नो काम सफल बनाउन सधै प्रयासरत हुने भएकाले सकरात्म समाचार  दिएर सहयोग गर्न उहाँले आग्रह गर्नु भयो । औपचारिक कार्यक्रमको समापन पछि मोरञ्जनात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष प्राडा. विक्रम श्रेष्ठ, प्रतिष्ठानका सहप्रवक्ता अरुणकुमार सिंह, शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानलगायतको उपस्थिति रहेको थियो । वर्तमान पदाधिकारीहरु भने कार्यक्रममा उपस्थिति जनाउनु भएन ।