इटहरी  / परिवर्तनका लागि सामाजिक अभियानको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक इटहरीस्थित मुक्तिधाममा सम्पन्न भएको छ । शनिवारका दिन आयोजित उक्त क्लिनिकमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहले स्वास्थ्य परिक्षण गर्नु भयो । करिब ३ वर्ष अघिदेखि आयोजित उक्त शिविर धरानका विभिन्न वडाहरु तथा धरान बाहिर आयोजित हुँदै आएको थियो भने ५३ औं संस्करण इटहरीमा आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिनुभयो । “६० वर्षदेखि माथिका बुवाआमाहरुका लागि विगत ३ वर्षदेखि हामीले निःशुल्क रुपमा कार्यक्रम आयोजना गर्दै आएका छौं” – बरालले भन्नुभयो ।  

विशेष गरी मुटु, सुगर र ब्लड प्रेशरका रोगीहरुको स्वास्थ्य परिक्षण गरिने उक्त शिविरमा सुगर टेष्ट र औषधि वितरण पनि निःशुल्क रुपमा गरिएको कार्यक्रम संयोजक शुशिर बरालले बताउनुभयो । वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य निशान नेपाल, प्रमोद आचार्यलगायतका अभियन्ताहरुको सहभागिता रहेको उक्त शिविर श्री कृष्ण प्रणामी युवा परिषद् इटहरीसंगको सहकार्यमा भएको थियो । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स निशा श्रेष्ठ र स्वेता भण्डारीले रक्तचाप परिक्षण गरेको उक्त शिविरमा ८५ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । 

विशेष गरि शहरका बिरामीहरुको खानपान र जीवनशैलीले रोग अझ निम्त्याएको डा. प्रशान्त शाहले बताउनु भएको छ । रोग लाग्नु भन्दा रोग लाग्नै नदिन खानपान र शारीरिक अभ्यास आवश्यक हुने गर्दछ । सुगर, प्रेशर र मुटुका रोगीहरुले खानपानमा हेलचेक्र्याई गर्न नहुने समेत शाहको सुझाव  छ ।