धरान । बुधबार साँझ काठमाण्डौंको सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेकोछ । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ती जारी गर्दै एसपी लामिछानेलाई कारबाही गर्दै सम्पूर्ण मजदुरहरुसंग काठमाण्डौं महानगरपालिकाले माफि माग्नु पर्ने माग गरेकोछ । 

विज्ञप्तीमा भनिएकोछ मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्नुपर्दछ । र, काठमाण्डौं महानगरपालिकाले मजदुरहरुसंग माफि माग्नु पर्दछ । 

त्यस्तै घाइते सम्पूर्ण श्रमिक तथा सञ्चारकर्मिको उपचारको व्यवस्था गरिनुपर्दछ, महानगर प्रहरीहरुद्धारा जफत् गरिएका सामानहरु सम्बन्धीत श्रमिकहरुलाई तत्काल फिर्ता गरिनुपर्दछ साथै महानगरभीत्र “सस्तो नागरिक बजार‶को व्यवस्था, सन्ध्याकालिन व्यवसाय गर्ने वातावरण, महानगरभीत्र “श्रम डेस्क‶  स्थापना गरी सम्पूर्ण श्रमिकहरुको सूचिकरण गर्दै सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्ने उल्लेखछ । 

बालेन्द्र साह मेयर भएदेखिनै काठमाण्डौंमा गरिखाने वर्गमाथि आक्रमण हुन थालेको उल्लेख गर्दै  र, बुधबार साँझको घटना अमानविय र क्रुर भएको जनाइएकोछ ।  

महानगर प्रहरीका एसपी मनोज लामिछाने नेतृत्वको प्रहरीले बुधबार साँझ पौने ८ बजे सुन्धारामा स्वरोजगार मजदुरहरुलाई अन्धाधुन्ध आक्रमण गरि ६ जनालाई गम्भिर घाइते बनाएकोछ, मजदुरहरुका सामानहरु लुटपाट गरिको र मजदुरलाई प्रहरी नियन्त्रणमा लिएर आतंकित बनाइएको अध्यक्ष राईले जनाउनुभएकोछ ।  

आक्रमणमा मजदुरहरु नानीमैया बस्नेत, राधिका मैनाली, बद्री देवकोटा र सञ्चारकर्मी पदम पोख्रेल लगायतमाथि निर्घात कुटपिट गरिएको थियो । कसैलाई असर नपर्नेगरी व्यवसाय गरिरहेकालाई कुटपिट, लछारपछार, गालीगलौज र सामान जफत् गरेर महानगरले गुण्डागर्दी गरेको राईले बताउनुभएकोछ । 

महानगर प्रहरीको यो बलजफ्ती र बलमिच्याई गैरकानुनी रहेको बताउनुहुँदै श्रमिकमाथिको आक्रमण मानवअधिकार विरुछ रहेको वहाँले बताउनु भएकोछ । सानो पूँजी लगानी गरेर जीवन चलाउनेहरुलाई संरक्षण गर्नुपर्नेमा सत्ता र शक्तिको आडमा आक्रमण गर्नु खेदजनक रहेको विज्ञप्तीमा उल्लेख गर्दै तत्काल समस्याको समाधान नगरिए यातायात श्रमिकहरु महानगर विरुद्ध आन्दोलनमा उत्रने राईले चेतावनी दिनुभएकोछ ।