धरान  / नभएको प्राध्यापक पद लिएको विषयमा निलम्बनमा परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले विषेश अदालतबाट सफाइ पाउनु भएको छ । 

मंगलबार विषेश अदालतका न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले गिरीलाई सफाइ दिएको हो । सफाइसँगै उहाँ अव विपी प्रतिष्ठानमा काममा फर्कन बाटो खुलेको छ ।


नेमप्लेट र पत्रमा प्राध्यापक लेखेर नपाएको ओहदा आफैं लिएको आरोपमा पदको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भए पछि उहाँ निलम्बनमा पर्नु भएको थियो । उहाँको निलम्बन पछि शिक्षाध्यक्ष प्राडा. सञ्जीवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मा दिइएको थियो । त्यसको केही समय पछि गठबन्धन दलले चलखेल गरि कायममुकाय उपकुलपतिमा प्राडा. प्रल्हाद कार्कीलाई नियुक्ति गरिएको थियो । 

विशेष अदालतबाट सफाइ पाएको फैसला आज डा. गिरीले पाउनु भएको छ । तर फैसालको पूर्णपाठ भने आइसकेको छैन् । उहाँ विहीबार नै प्रतिष्ठानमा उपस्थिति हुने प्रतिष्ठानले जनाएको छ । 

अदालतको फैसलाले निलम्बन फुकुवा भएकाले गिरी अब बाँकी रहेको अवधि करिव १६ महिनाका लागि बहाली हुनुहुने छ ।  उहाँ १३ महिना निम्बनमा पर्नु भयो । गिरीको पुनबर्हालीसँगै कामु उपकुलपति प्राडा कार्की स्वतः हट्नुपर्ने प्रावधान । कार्कीलाई अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भनेर गत मंसिरमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नियुक्ती दिनु भएको थियो । 

 कार्कीले विदा लिए 

डा. गिरीले सफाई पाए पछि  कामु उपकुलपतिले पदबाट विदा लिनुभएको छ । विहीबार ७ महिनाको अवधीमा सहयोग गर्ने कुलपति, सहकुलपतिलगायत सबैलाई धन्यवाद ज्ञापन गदैं विज्ञप्ति जारी गर्नु भएको छ ।