धरान /  लामो समयदेखि धरानमा नीजि क्लिनिक संचालन गरेर हार्डजोर्नीका विरामीलाई सेवा दिदैं आउनु भएका डा. हरि शर्माले आफ्नो पेसाबाट अवकास लिनु भएको छ । 

सन् १९९३ सालदेखि धरान ९ पुतली लाइनमा क्लिनिक संचालन गरेर सेवा दिदैं आउनु भएका डा. शर्मा अवकास जीवन विताउन काडमाडौं प्रस्थान गर्नु भएको हो । 

धरान तथा पूर्वी पहाडी क्षेत्रका जनताको सेवा गरेर अवकास जीवन विताउन लाग्नु भएका डा. शर्माको योगदानको उचित कदर गदैं नेपाल चिकित्सक संघ धरानले बुधबार सम्मानसहित विदाइ कार्यक्रम गरेको छ । 

संघका अध्यक्ष डा. रोसन शाह कलवारको नेतृत्वमा उहाँलाई विदाइ गरिएको हो । उक्त कार्यक्रममा हालै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सहप्रवक्तामा नियुक्त हुनुभएका डा.अरुणकुमार सिंह, संघका सदस्यहरु डा. मुना दाहाल, डा. उज्वल गौतमलगायतको उपस्थिति रहेको थियो । 

उहाँले धरानमा बसेर हार्डजोर्नी सम्बन्धिका विरामीलाई अनवरत रुपमा सेवा गर्नु भएकोले उहाँलाई सम्मान गरिएको विपी प्रतिष्ठानका हार्डजोर्नी विशेषज्ञसमेत रहनु भएका संघ अध्यक्ष कलवारले जानकारी दिनु भयो । 

भारतको पटनाबाट सन् १९८१ म एविविएस गरेर उहाँले आफ्नो सेवा धनकुटा जिल्ला अस्पतालबाट थाल्नु भएको थियो । ६ बर्ष धनकुटा र २ बर्ष झापाको सरकारी अस्पतालमा काम गरेर सन् १९९१ म धरानको हाल विपी प्रतिष्ठान भएको स्थानमा रहेको पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा काम गर्नु भएको थियो । सन् १९९३ सालमा आफै क्लिनिक खोली धरानेहरुको सेवा सुरु गर्नु भएको थियो । ३० बर्षसम्म सेवा गरेर उहाँ अवकास जीवन विताउन काडमाडौं जानु भएको छ । उहाँका एक श्रीमति र दुई छोरा हुनुहुन्छ ।