धरान । धरान १४ स्थित विजयपुरमा रहेको आइडियल इङ्लिस बोर्डिङ स्कुलले वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।   शनिवार विद्यालय प्राङगणमा निशुल्क भएको स्वास्थ्य शिविरमा विद्यालयमा अध्ययनरत तथा वडाका करिव २५० जना बालबालिकाहरुको सहभागीता रहेको थियो । विहान ११ बजेदेखि ५ बजेसम्म शिविरबाट सेवा लिएका थिए । 


शिविरमा धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानको बालरोग विभागमा कार्यरत बालरोग विशेषज्ञ डा. अरूणकुमार सिंहले बालबालिकाहरूको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । डा. सिंहका अनुसार शिविरमा कान आँखा, नाक कान घाटी, छालालगायतका समस्या भएका बालबालिकाहरुले सेवा लिएका थिए । एक जना मुटुको सस्या भएको, एक जनामा मधुमेहको संकेत देखिएको उहाँले बताउनु भयो । पेट दुख्ने, झाडापखाला, एलेर्जी, ज्वरो आउने बालिबालिकाहरु शिविरमा सहभागी भएको उहाँले बताउनु भयो । 

'धरान जस्तो सुगम सहरमा जटिल समस्या भएका बालबालिका अपेक्षा नगरिएको तर १४ नं. वडामा त्यस्ता समस्या भएका बालबालिका धेरै भेटिएका छन् । उहाँहरुका अभिभावकहरुलाई समस्या अनुसार विपी प्रतिष्ठानको विभिन्न विभागमा सम्पर्क गर्न रेफर गरेको छु ।'- डा. सिंहले भन्नु भयो । 


 शिविरका लागि १४ नं वडाको आधारभूत स्वास्थ्य केन्द्रले सहयोग गरेको थियो । ४० जना भन्दा बढी बालबालिकाहरुको मधुमेह(सुगर)को जाँचसमेत गरिएको थियो । 

बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरेर आफुले नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको विद्यालयका निर्देशक सागर खड्काले जानकारी दिनु भयो । शिविरमा विद्यालयमा पढ्ने मात्र नभएर वडाका धेरै बालबालिकाहरुले सहभागीता जनाएको उहाँले जानकारी दिनु भयो । आगामी चैत्र महिनामा वडा कार्यालयसँग समन्वय गरेर वडा भरीका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिने उहाँले जानकारी दिनु भयो । 

शिविरबाट यस विद्यालयमा अध्ययन गर्ने बालबालिका मात्र नभएर धरान १४ का अधिकांश बालबालिकाहरु लाभान्वित भएको विद्यालयका भाइस प्रिन्सिपल मनोज गुरुङले जानकारी दिनु भयो ।