धरान /  मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।  उद्घाटन खेलमा धरानको आइडल स्कुलविरुद्ध कार्मेल स्कुलले जितेको छ ।

आजै सम्पन्न चार स्पर्धामा कार्मेलसँगै, सुनाखरी, समिट र प्रभात स्कुल विजयी भएका छन् । आइडियल स्कुलले कुल १४ स्कोर गर्दा विजयी कार्मेलले १८ स्कोर जोडेको थियो । स्पर्धाको प्रत्येक क्वाटरमा कार्मेल र आइडल स्कुलले ०–३, ७–०, ७–६ र ४–५ अंकको स्कोर बनाएका थिए ।

यस अघिको पहिलो खेलमा सुनाखरी स्कुलले २४।१० को सेटमा सत्य शिशु सदनमाथि जित हात पारेको छ ।  समिट स्कुलले पदम मेमोरियल स्कुललाई ३५–७ र प्रभात स्कुलले ज्ञानोदय स्कुललाई ३४–१५ अंकको अन्तरले पराजित गरेका थिए ।

उद्धघाटन खेलका प्रमुख अतिथि धरान १८ वडाध्यक्ष एवं पूर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष प्रवीण राई र कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल सार्वजनिक गुठी संस्थाका अध्यक्ष भीमराज लिम्बूले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्धघाटन गर्नु भएको छ ।  कार्यक्रममा विशेष अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी जिल्ला बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले स्वागत मन्तव्य राख्दै विद्यालय र कार्यक्रमको विषयमा प्रकाश पार्नु भयो । 

दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको यो दोश्रो संस्करण हो । प्रतियोगितामा झापा, सुनसरी र मोरङका १४ विद्यालयले सहभागिता जनाएका छन् ।