कपिलवस्तु । यातायात मजदुरहरुको आन्दोलनमा अग्रणी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भौतिक संरचनामा समेत बलियो रहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । 

बिहिबार बाणगंगामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटीको भवन शिलान्यास गर्नुहुँदै अध्यक्ष राईले २०३६ सालदेखि यातायात मजदुरहरुको हक, हित, अधिकार र सुरक्षामा लडाँई गर्दै आइरहेको इतिहाँसको स्मरण गराउनुहुँदै भौतिक संरचनाको उपलब्धता र सम्पन्नताले यातायात मजदुर आन्दोलनलाई थप बलियो बनाउँने बताउँनुभयो ।  

कपिलवस्तुको बाणगंगा ८ स्थित पुल्चोकमा यातायात मजदुर भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटी प्रयोजनका लागि निर्माण हुनेछ । भवनको शिलान्यास गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले बाणगंगामा निर्माण हुन लागेको भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशभीत्रको छैठौँ भवन हुने बताउनुभयो । लुम्बिनीमा बुटवल, बर्दघाट, तुलसीपुर, घोराहीमा संगठनको आफ्नै भवन रहेकोमा अब यस प्रदेशको छैठौँ भवनका रुपमा कपिलवस्तुको बाणगंगामा पनि मजदुरहरुको आफ्नै भवन बन्न लागेको राईले बताउनुभयो । 

बाणगंगा नगरपालिका वडा नम्बर ८, टोल विकास समिति, नगरपालिका लगायतको सहयोगमा प्राप्त २ कठ्ठा ५ धुर जग्गामा तत्कालका लागि एउटा हल, एउटा कार्यालय कोठा र शौचालय रहेको भवन यही आर्थिक वर्षभीत्र बन्नेगरी भवनको शिलान्यास गरिएको हो । 

भवन शिलान्यास कार्यक्रममा बाणगंगा नगरका मेयर चक्राणी अर्याल, वडा नम्बर ८ का अध्यक्ष बाबुराम अर्यालले मजदुरहरुको हित रक्षाका लागि नगरको तर्फबाट भवन निर्माणमा उत्साहकासाथ सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो । 

यातायात मजदुरहरुको अधिकारका लागि भूमिगत कालदेखि काम गरिरहेको यो देशकै सशक्त संगठनले बाणगंगा नगरपालिकामा भवन निर्माण योजना बनाउन लागेकोमा धन्यवाद दिँदै आफुहरुको साथ र सहयोग रहने मेयर अर्यालले बताउनुभयो । 

२०८० सालको असारसम्ममा उक्त भवन निर्माण सम्पन्न गरिसकिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा लसम्बिनी प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेले बताउनुभयो । तत्कालका लागि २४ लाख लागतमा भवन निर्माण सम्पन्न गरिने र आवश्यक आर्थिक सहयोग शुभेच्छुक तथा दाताहरुबाट समेत संकलन गरेर भवन निर्माण सम्पन्न गरिने लक्ष्य रहेको उपाध्यक्ष गैरेले बताउनुभयो । 

कार्यक्रममा संगठनका महासचिव केशव थाा (निरु), उपमहासचिव खगेन्द्रबहादुर ओली, केन्द्रीय सदस्य कृष्ण कँडेल, केन्द्रीय सल्लाहकार प्रमुख ध्यानबहादुर राई लगायतको उपस्थिति रहेको थियो । 

संगठन लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव हुमबहादुर क्षेत्रीले गर्नु भएको थियो । 

कपिलवस्तुको अध्यक्ष ऋषिराम पोखरेल 

 ऋषिराम पोखरेलको अध्यक्षमा ९ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटी गठन भएकोछ । 

बिहिबार बाणगंगामा सम्पन्न कपिलवस्तु जिल्ला भेलाले उपाध्यक्षमा कमल रासकोटी, सचिवमा चेतनारायण भट्टराई, सहसचिवमा गोपाल रेग्मी, कोषाध्यक्षमा गोरखनाथ आचार्य चयन हुनुभएकोछ । 

त्यस्तै सदस्यहरुमा अर्जुन भण्डारी, छविलाल भुसाल, मदन अर्याल, अनुराम पाण्डे चयन हुनुभएकोछ । सल्लाहकारहरुमा तुलसीराम अर्याल र डम्बर कुँवर रहनुभएकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा भएको भेलामा संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी इन्चार्ज ठाकुरप्रसाद गैरे, महासचिव केशव थापा (निरु) उपमहासचिव खगेन्द्रबहादुर ओली, केन्द्रीय सदस्य कृष्ण कँडेल, प्रदेश अध्यक्ष मोहनबहादुर केसी, उपाध्यक्ष प्रकाश बस्याल, सचिव हुमबहादुर क्षेत्री लगायतका नेताहरुको सहभागीता रहेको थियो ।