धरान । धरानकासमाजसेवी प्रभुप्रसाद श्रेष्ठको निधन भएको छ । धरान सरोकार समाज काठमाडौंका अध्यक्ष रहेर सामाजिक कार्यमा सक्रिय श्रेष्ठको ८० वर्षको उमेरमा सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । 

केही समययता मिर्गौलामा समस्या देखिएपछि डायलाइसिस गराउँदै आउनु भएकाश्रेष्ठ घरमै लडेर टाउकोमा चोट लागेपछि अस्पताल भर्ना हुनु भएकाे थियाे ।

 उहाँकाे आइतबार शल्यक्रिया गरेर सोमबार डायलाइसिस गराउने क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । २००० साल साउन १ जन्मिनु भएका श्रेष्ठ सन् १९८१ मा धरान जेसिजको अध्यक्ष भएर समाज सेवाकाे यात्रा शुरू गर्नु भएकाे थियाे  । राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य, टेवल टेनिसका राष्ट्रिय प्रशिक्षक रहेका श्रेष्ठ पछिल्लो समय धरानको विकासका लागि स्थानीयवासी र मन्त्रालयबीच समन्वयकारीको भूमिका निभाउदै आउनु भएकाे थियाे ।

धरानमा खानेपानीका लागि एसियाली विकास बैङ्क(एडिबी) को परियोजना ल्याउन,धरानमा मालपोत कार्यालय स्थापना गर्न र धरानबाटै पासपोर्ट बनाउने सुविधा ल्याउन उहाँले पहल गर्नु भएकाे थियाे ।

पछिल्लो समय धरानको पुरानो हस्पिटलमा नयाँ भवन बनाएर हस्तान्तरण गर्ने योजनामा रहेको परिवारले जनाएको छ ।आज चतरास्थित सप्तकोशी नदीमा उहाँको दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ ।