इटहरी  / प्रदेश सरकारबाट सुनसरीकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयका रुपमा प्रोत्साहन पुरस्कार पाएको इटहरीको जनता माध्यामिक विद्यालयले ९ कोठाको अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गरेको छ । 

पछिल्लो पाँच वर्षमा मात्र इटहरी ६ र ९ मा गरी यस स्कुलका ७ वटा भवन र ६७ वटा कोठा विस्तार गरेको विद्यालयले यो वर्ष विज्ञान विषयलाई प्राथमिकता दिएर पूर्वाधार निर्माण गरिरहेको अवस्थामा इटहरी ९ मा रहेको भवनमा आधुनिक विज्ञान प्रयोगशाला बनाएको हो ।

यससँगै ४०–४० जना बसेर चलाउन मिल्ने गरी दुई वटा कम्प्युटर ल्याबसमेत सञ्चालनमा ल्याएको छ । दुवै ल्याबहरु कक्षा १२ सम्मका विद्यार्थीले प्रयोग गर्नेछन् । करिव २ कराेड ५० लाख खर्च भएकाे प्रयाेगशालामा विज्ञानका धेरै किसिम सामानहरु हुनेछन् । सरकारी विद्यालयमा सम्भवत याे सबै भन्दा बढि सुविधा भएकाे ल्याव हुने विद्यालयले जनाएकाे छ ।  विद्यालयमा हाल तीन हजार पाँच सय जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्र्थी संख्या निरन्तर बढ्दै गएपछि विद्यालयले पुर्वाधार निर्माणको काम धमाधम गरिरहेको छ । 

यससँगै यो वर्षदेखि इटहरी वडा नं. ९ मा रहेको आफ्नो ग्राउण्डलाई विद्यालय माताहत ल्याएको छ । वरपर प्रयोगविहिन भएको आफ्नो जग्गालाई पनि कम्पाउण्डभित्र ल्याइ स्तरोन्नतीको काम अघि बढाइएको व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगालले जानकारी दिनु भएको छ । विद्यार्थीको संख्या बढेपछि लामो समयदेखि सार्वजनिक मेला, महोत्सवमा प्रयोग भइरहेको स्कुलको जग्गालाई अब कम्पाउण्डभित्र समेट्नुपरेको बताए । यसका साथै अगाडी बास्केटबल कोर्ट लगायत खेल पुर्वाधारहरु निर्माण गर्ने काम पनि भइरहेको छ । 

साथै विद्यालयले नयाँ भर्नाको लागिसमेत तयारी गरेको छ । यस वर्ष ३०० जना मात्र भर्ना लिने तयारी गरिएको उहाँले जानकारी दिनु भयो । २०१३ सालमा इटहरीको दोस्रो विद्यालयका रुपमा स्वीकृति पाएको विद्यालय बिचमा वेवास्ताको शिकार बनेको थियो । विद्यार्र्थी संख्या घट्दै गएको र विद्यालयको साखः घट्दै गएको समयमा काशीनाथ दंगाल नेतृत्वको व्यवस्थापन समिति आएपछि विद्यालयमा सुधारका कामहरु भएको प्रधानाध्यापक पशुपति सिग्देले बताउनु भयो ।

विद्यालयमा नेपाली र अंग्रेजी पढाउने छुट्टै छुट्टै दुइ वटा ब्लकहरु छन् । विद्यार्थीहरुले पढ्नै पर्ने महत्वपूर्ण किताबहरु भएको पुस्तकालय, कम्प्युटर ल्याब, आफ्नै ३ वटा स्कुल बस भएको जनता माविमा शिक्षक कर्मचारी गरेर डेढ सय बढीले रोजगार पाइरहेका छन् । हरेक कक्षा कोठामा सिसिटिभि क्यामेरा जडान गरिएको छ । शिक्षाको मनिटरिङ कोठाबाटै हुने गरेको प्रअ सिग्देलले बताउँनु भयो ।  

विद्यालयमा कम्प्युटर, शिक्षा, मानविकी विज्ञान र व्यवस्थापन समूहमा पढाई हुँदै आएकोमा यस वर्षबाट कानुन विषय पनि थप गरिएको सिग्देलले जानकारी दिनु भयो ।  विद्यालयमा भौतिक पुर्वाधार निर्माणदेखि शिक्षणको गुणस्तर सुधारका कामलाई पनि प्राथमिकता दिएकोले विद्यालय आकर्षणको केन्द्र बनेको विद्यालय व्यवस्थापन समितिका सदस्य शिवराज दाहालले जानकारी दिनु भयो । 

विद्यालयले एसइइ परीक्षामा समेत राम्रो नतिजा ल्याइरहेको छ । गत वर्षको एसईई परीक्षामा सहभागि २९९ विद्यार्थीमध्ये ११ जनाले ९० प्रतिशत भन्दा धेरै, ७२ जनाले ८० देखि ९० प्रतिशत, ९२ जनाले ७० देखि ८० प्रतिशत, ७७ जनाले ६० देखि ७० प्रतिशत र बाँकी सबैले ५० प्रतिशत भन्दा माथि अंक ल्याएका थिए । 

IMG-20240203-WA0000