काठमाडौं । जलवायु परिवर्तनका असर र यसको नियन्त्रण, न्यूनीकरण तथा समाधानका लागि नेकपा एमाले वन तथा वातावरण विभागले बृहत्तर कार्यशाला आयोजना गर्ने विभाग प्रमुख भारती पाठकले बताउनु भयाे । विभागद्वारा आयोजित जलवायु परिवर्तनले वातावरण र जनस्वास्थ्यमा पारेको असर र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रमको सभापति तथा बागमती प्रदेशकी सांसद पाठकले सो कुरा बताउनु भएकाे हाे । 

जलवायु परिवर्तन र जनस्वास्थ्य एकापसमा जेलिएको विषय भएको बताउँदै पाठकले भन्नु भयाे, “कोप-२८ मा पनि धेरै मुद्दाहरू छलफलको विषय बन्यो । नेपालको पनि उपस्थिति रह्यो । तर, हामी कहाँ जलवायु परिवर्तन र प्रदूषणका कारण मानव स्वास्थ्य र वातावरणमा परिरहेको असरबारे कमै छलफल हुँदा रहेछन्”, उहाँले अगाडि भन्नु भयाे, “कोपमा उपस्थित भएर आएपछि वर्तमान सरकारले यस विषयलाई बिर्सिएको हुँदा नेकपा एमालेको वन तथा वातावरण विभागले यस सम्बन्धमा प्रारम्भिक छलफलहरू सुरु गरेको हो ।  

“वायु प्रदूषणले मात्रै सन् २०१९ मा नेपालमा ४२ हजार एक सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय अध्ययन छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घको निर्वतमान अध्यक्ष समेत रहनु भएकी पाठकले जलवायु परिवर्तनको असर ठुलाठुला विपद् वा हिमाल पग्लनु मात्र सीमित नरहेर जनस्वास्थ्यसँग जोडिएका विषयहरूमा समेत प्रत्यक्ष देखिन थालेको बताउनु भयाे ।

कार्यक्रममा वन, वातावरण तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।