धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेशले प्रदेशका १४ वटै जिल्लामा संगठन विस्तार गर्ने र ३ हजार ८ सय ३५ सदस्यता वितरण गर्ने योजना बनाएकोछ । शुक्रबार इटहरीमा आयोजित प्रदेश स्तरिय कार्यशालामा यस्तो योजना बनेको हो । 

प्रदेशभरबाट सहभागी प्रतिनिधिहरुले राज्य श्रमिक प्रतिकुल बन्दै गइरहेको र श्रमिक विरोधी कानुनहरु निर्माण गरिरहेकाले त्यसको प्रतिवाद गर्न शक्ति निर्माण गर्नुपर्ने भन्दै प्रदेशभरी संगठनलाई विस्तार गर्ने योजना बनाएको हो । 

चैतसम्म २ हजार ३ सय ७० नयाँ सदस्यता वितरण गर्ने, १ हजार ४ सय ६५ सदस्यता नविकरण गर्ने योजना निर्माण गरिएको संगठन कोशी प्रदेश सचिव महेश घिमिरेले जानकारी गराउनुभयो । 

कार्यशालाका प्रमुख आतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को शंसोधन मस्यौदा सदनमा पेस गर्ने तयारी भएपनि श्रमिकहरुसंग छलफल नगरिएकाले प्रतिकुल कानुन बने संगठनको अगुवाइमा प्रतिवाद गर्नुपर्ने बताउनुभयो । 

संगठनका अध्यक्ष राईले भन्नुभयो प्रतिवादका लागि शक्ति चाहिने र शक्ति सदस्यहरुमा रहेकाले प्रदेशभरीका बसपार्कहरुमा सदस्यता विस्तार र नविकरणका लागि शिविरहरु सञ्चालन गर्ने, नयाँ क्षेत्रको पहिचान गरि कमिटी निर्माण गर्ने लगायतका योजना निर्माण गरिएको हो । 

प्रदेशभरी आठवटा जिल्लाहरुमा संगठन शसक्त रहेको भएपनि तेह्रथुम, सोलुखुम्बु, ओखलढुङ्गा, ईलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा कमिटीलाई व्यवस्थित गरिने योजना बनाइएकोछ ।  कार्यशाला संगठन कोशीका अध्यक्ष गौरी लामाको अध्यक्षतामा भएको थियो । संगठनका उपाध्यक्ष विष्णु लामा, महासचिव केशव थापा निरु, सचिव टिका भट्टराई लागायतका नेताहरुको उपस्थिति रहेको थियो । 

कार्यशालाबाट, मनोनयन र कमिटी पुनर्गठन

कार्याशालाबाट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश युवा कमिटी विराज सुवेदीको अध्यक्षतामा ११ सदस्यीय र सीता तिम्सिनाको अध्यक्षतामा ७ सदस्यीय कोशी प्रदेश महिला कमिटी गठन भएकोछ । 

युवा कमिटीको उपाध्यक्षमा सिताराम श्रेष्ठ, सचिव रमेश राई र सदस्यहरुमा मानबहादुर तामा¨, नरेन्द्र निरौला, राम ढकाल, विजय प्रधान, सन्तोष राई, केशव सञ्जेल र लिला तामा¨ रहनुभएकोछ । 

त्यस्तै महिला कमिटीमा सचिवमा कमला श्रेष्ठ, संगीता गिरी, चिना चौहान, अम्बिका भट्टराई रहनु भएकाे छ । 

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेशमा रिक्त रहेको उपाध्यक्षमा पथरी मोरङबाट पूर्ण कार्की र धरानबाट सदस्य तथा धरान इन्चार्जमा प्रेमप्रसाद पोख्रेल र धनकुटाबाट सदस्य तथा धनुकटा इन्चार्जमा सिंहबहादुर तितुङलाई मनोनित गरिएकोछ ।