धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक कर्मचारीको पदोन्नतिकाे अदालत तगाराे बनेकाे छ ।

पदोन्नतिका विषयमा प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले निर्णय गरेकाे अवस्थामा उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि बढुवाको कुनै पनि प्रक्रिया अघि नबढाउन आदेश दिएको छ । उच्च अदालत विराटनगरका सूचना अधिकारी युवराज पौडेलका अनुसार २०८० माघ १७ गतेसम्म बढुवाको कुनै पनि प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । दुवै पक्षलाई छलफलमा बोलाइएको छ । प्रतिष्ठानविरुद्ध सञ्जयकुमार मेहताले रिट निवेदन दिएका थिए । उच्च अदालत विराटनगरका न्यायाधीश गणेशप्रसाद रिजालको इजलासले उत्प्रेषणयुक्त आदेश जारी गरेको हो ।

अदालतको आदेशसँगै प्रतिष्ठान पूर्णरूपमा  सञ्चालन गर्न दवाव परेकाे छ ।   बढुवाकाे मुद्वा लिएर चिकित्सकहरू आन्दोलनमा छन् ।

कास बैठकमा बढुवाकाे विषयमा सहमति हुन सकेकाे थिएन । प्रतिष्ठानका का.मु. उपकुलपति प्रा.डा. प्रह्लाद कार्की बैठक कक्षबाट विना निष्कर्ष बाहिरिएपश्चात् पुनः बैठक बस्न सकेको छैन । उपकुलपति नफर्किएपछि सह–उपकुलपति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई जानकारी गराएको बताइएको छ ।

१६ बर्षदेखि चिकित्सक कर्मचारीकाे बढुवा नभए पछि  उनीहरू निरास छन् ।