भनिन्छ  ‘डन्ट वर्क हार्ड, वर्क स्मार्ट’ अर्थात्, धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर ।  ‘स्मार्ट’ तरिकाले पढ्ने हो भने हामीले सजिलैसँग पढ्न सक्छौं र पढेको कुरा याद गर्न सक्छौं ।

कहिलेकाहीँ घण्टौं पढे पनि दिमागले केही टिप्दैन । कहिले दिमागले टिपिसकेको कुरा पनि परीक्षामा लेख्दै गर्दा भुसुक्कै बिर्सिइन्छ । यो आम मानिसको समस्या हो । यो सबै मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । 

कक्षा १० का विद्यार्थी सेन्टअफ र एइईको तयारीमा छन् । कक्षा १२ का विद्यार्थी बोर्ड परीक्षाको तयारीमा छन् । अहिले परीक्षाको महिना नजिकिँदैछ । त्यसैले लगभग सबै विद्यालयमा तीव्र गतिमा पढाइ भइरहेको हुन्छ । विद्यार्थीहरु अतिरिक्त कक्षा लिन विहान जाडोमा विद्यालय पुगिरहेका छन् । 

माघ १६ गतेदेखि सेन्टअफ परीक्षा छ । चैत्र महिनामा एसईई हुन्छ । जेठमा कक्षा १२ को परीक्षा हुन्छ । फलामको ढोका मानिने एइई परीक्षामा विशिष्ट अंक ल्याउने सबैको लक्ष्य हुन्छ । तर, विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा जति एकाग्र भएर अध्ययन गर्छन् वर्षको शुरुवात देखि नै उनीहरु त्यसैगरी पढाइमा विल्कुलै लागिपर्दैनन् । यो समस्याले गर्दा मुलुकमा राम्रो जनशक्ति उत्पादन हुन सकेको छैन् । अन्तिम समयमा राम्रो नतिजा ल्याउने दबावमा विद्यार्थीहरु तनावको शिकार बन्छन् जुन झनै घातक हुनसक्छ ।परीक्षा कसरी राम्रो गर्ने भन्ने विषयमा केही टिप्स यहाँ प्रस्तुत गरिएको छ । 

अध्ययन

विद्यार्थीले हरेक शीर्षक पूरा अध्ययन गर्नुपर्छ । किताबका सबै पाठ पढ्ने समय छैन भने पनि कम्तीमा पढेका शीर्षकहरुको चाहिँ पूर्ण अध्ययन गर्नुपर्छ ।

पुराना प्रश्नपत्रको अध्ययन

परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं ध्यानमा राख्नुपर्ने कुरा हो, पुराना प्रश्नपत्रको अध्ययन । यसले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न सहज हुन्छ । कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु(याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे जानकारी हुन्छ ।

समूह बनाएर पढ्ने

परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ । यसो गर्दा आत्मविश्वास बढ्छ । यसका अतिरिक्त पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । त्यसबाहेक साथीहरुको नोटबाट पनि नयाँ जानकारी वा ज्ञान पाउन पनि सकिन्छ । फेरि कसैको बानी हुन्छ एकान्तमा पढ्ने । यसो हो भने समूहमा नपढेकै बेस हुन्छ । आफूलाई कसरी पढ्दा सहज हुन्छ त्यही गर्ने ।

लेख्दै अध्ययन गर्ने

पूरै पाठ कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली त्यति प्रभावकारी मानिँदैन । आफूले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । लेख्ने तरिका छिटो र सजिलो माध्यम हो स्मरण गर्नका लागि । पढ्दै गर्दा सँगसँगै लेख्ने ग¥यो भने लेखन गति पनि बढ्दछ ।

कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । परिक्षामा मात्र पढ्ने विदार्थीहरुले भने कठिन सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुने विभिन्न अध्ययनमा देखिएको छ ।

चार्ट र डायग्रामको प्रयोग

कुनै विषयवस्तु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग पु¥याउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतार्नुपर्छ ।

पर्याप्त सुत्ने

परीक्षाका नाममा निद्रा मारेर पढ्दा भोलिपल्ट दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । त्यसैले पर्याप्त सुत्नु राम्रो हुन्छ ।

स्वास्थ्यको ख्याल गर्ने

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । केही विद्यार्थीहरु परीक्षाको समयमा बिरामी परेर परिक्षा नै छुटेको समाचारहरु पनि हामीले सुनेका छौँ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सही समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

खानेकुरामा ध्यान दिने

परीक्षाको बेलामा ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफूले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

नियमित ब्रेक लिने

परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ । रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ ।

आफूले जानेको कुरा साथीहरुसँग छलफल गर्ने

भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुस्तक अध्ययन गरेर भन्दा आफूले जानेको कुरा अरुलाई भन्दा बढी प्रभावकारी हुन्छ । त्यसैले साथीहरुलाई आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउनुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुक्ति पाइन्छ ।

परीक्षाको दिन विशेष तयारी

परीक्षाको दिन दिमागलाई प्रेसर दिनु कदापी सही होइन । त्यसैले परीक्षाको दिन अगावै मिहिनेत गरेर नियमित पठनपाठन गर्नुपर्छ भनिएको हो । परीक्षाको दिन सखारै उठेर केही बेर ध्यान गरेर ब्रेकफास्ट लिनुपर्छ । समयको हेक्का राख्नुपर्छ । परीक्षाको समय आवश्यक पर्ने पेन, पेन्सील, इरेजर, स्केल, एडमिट कार्ड अर्थात् प्रवेश पत्र जस्ता सामाग्री भुल्नुहुँदैन । परीक्षाको दिन परीक्षा समयभन्दा ठिक २० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । र प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ । नभुलौँ एउटा प्रश्न पूर्ण रुपमा बुझ्नु भनेको ४० प्रतिशत उत्तर आउनु बराबर हो ।

यस्ता कुरामा पनि  ध्यान पुर्याउनु पर्छ 

  • नियमित नुहाउने
  • प्रशस्त पानी पिउने
  • धेरै पिरो खानेकुरा सकेसम्म नखाने किनकी यसले मस्तिष्कलाई छिटो थकाउँछ
  • पढ्ने कोठा उज्यालो र सफा राख्ने
  • स्वच्छ हावामा हिँडडुल गर्ने
  • पढेको कुरालाई आफूलाई मनपर्ने गीतको संगीतमा ढालेर याद गर्ने
  • शब्दहरुलाई तस्वीर तथा दृश्यमा ढालेर पनि स्मरण गर्न सकिन्छ
  • याद गर्नु पर्ने विषय सुत्र बनाएर पनि याद गर्न सकिन्छ ।

अभिभावकको भूमिका‘

विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो वा नराम्रो हुनुको पछाडि उनीहरुको एकल भूमिका भने हुँदैन । तयारीका लागि अभिभावकले पनि घरमा त्यहीअनुसारको वातावरण सिर्जना गरिदिनुपर्छ । आफ्ना नानीबाबुहरु परीक्षाको तयारी गर्दैगर्दा बाबुआमाले यसरी उनीहरुलाई मद्दत गर्नसक्छन् स्

परीक्षाको समय विद्यार्थीहरु मानसिक रुपले थकित हुन्छन् । उनीहरुमा परीक्षामा राम्रो अंक कसरी ल्याउने भन्ने चिन्ता हुन्छ । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।

झैझगडा मात्र होइन अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोरा छोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । तर रिस डर धम्की देखाउनु कदापी हुँदैन ।