धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्तरिक बढुवा र वृत्ति विकासलाई लिएर कार्यरत चिकित्सक, कर्मचारी, शिक्षकहरुले हडताल गरि सेवा प्रभावित बनाए पछि समस्या समाधानका लागि यहाँका पाँच राजनीतिक दलका प्रतिनिधिहरु काठमाडौं पुगी स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका छन् । 

विहीबार स्वास्थ्य मन्त्रालय पुगेर विपी प्रतिष्ठानको समस्याबारे ध्यानाकर्षण गराएका हुन । स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारीणी समितिको बैठक बसेर सञ्चालक परिषद्मा  पेश गर्ने प्रस्ताव तयार गर्ने र संचालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले जानकारी दिनु भयो ।  कार्यकारिणी(कास) बैठक तत्काल बसेर शिक्षक तथा कर्मचारीका माग सम्बोधन गर्ने मन्त्री बस्नेतले बताउनु भएको थियो । 

स्वास्थ्यमन्त्री बस्नेतले प्रतिष्ठानको विषयमा आफू गम्भीर भएको बताउदैं प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त बैठक गरेर प्रतिष्ठानको समस्या समाधानका विषयमा छलफल भएको उहाँले पाँच राजनीतिक दलका प्रतिनीधिहरुलाई अवगत गराउनु भएको थियो । त्यसका लागि मुख्य सचिव अर्याललाई शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न आवश्यक गृहकार्य गर्ने जिम्मेवारी दिइएको बताइएको छ । 

टोलीले यस अघि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर समस्याबारे अवगत गराए पछि सभापति देउवाले मन्त्री बस्नेतलाई समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो ।  मन्त्री बस्नेतले  विपीका पदाधिकारी, दलहरुका प्रतिनीधीहरुलाई करिव ७ घण्टा समय दिनु भएकाे थियाे । 

धरानबाट काठमाडौं टोलीमा कोशी प्रदेश सभा सदस्य तथा नेकपा एमाले सुनसरी क्षेत्र नं. १ इञ्चार्ज विजय राई र कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री मीनकुमार विश्वकर्माको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी०(का केन्द्रीय सदस्य जीवन राई, धरान उपमहानगरका पूर्व मेयर तिलक राई, एमालेका नगर अध्यक्ष हर्कजंग एभेङ, नेकपा (माओवादी केन्द्र) नगर अध्यक्ष मनोज भट्टराई, नेपाली कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नगर सभापति पोखरेल, नगर उपसभापति तथा धरान–१८ का वडाध्यक्ष प्रविन राई, जसपा नगर अध्यक्ष ताजुव लिम्बूलगायत रहनु भएको थियो । 

प्रतिष्ठानका पदाधिकारीहरु पनि मन्त्रीसँग छलफलमा 

लोकसेवा आयोग बढुवामा अंकुस भए पछि कायममुकायम उपकुलपति प्राडा. प्रल्हाद कार्की, शिक्षाध्यक्ष प्राडा. सञ्जिवकुमार शर्मा, रजिष्टार प्राडा. सूर्यप्रसाद उपाध्यय, अस्पताल निर्देशक डा. जगत नारायणले पनि बढुवा प्रक्रियामा भएको समस्याबारे छलफल गर्नु भएको थियो । छलफलमा शुक्रबार नै कासको बैठक बसी बढुवा समस्याबारे निर्णय गर्न मन्त्री बस्नेतले पदाधिकारीहरुलाई निर्देश दिनु भएको छ । प्रतिष्ठानको पुरानै नियमावली अनुसार कासमा निर्णय गरि लगतै २१ दिन पछि  माघ २६ गते सिनेट बसी अनुमोदन गरिने तयारी भएको छ । विपीको समस्य र लोकसेवा आयोगसँग समन्वय र अध्ययन गर्न मन्त्रालयले मुख्यसचिव बैकुष्ठ अर्याललाई जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । 

प्रतिष्ठानका शिक्षक र कर्मचारीहरू संयुक्त आन्दोलनमा उत्रिएपछि आइतबारदेखि ओपिडी र शैक्षिक क्षेत्र ठप्प भएको छ। आन्दोलनका कारण प्रतिष्ठानका स्वास्थ्य सेवा तथाविद्यार्थीहरुको शैक्षिक कार्यक्रममा बाधा पुग्दैं आएको छ । चिकित्सकहरुको माग जाहेज भए पनि लोकसेवा आयोगले अंकुश लगाएको भन्दैं कामु उपकुलपतिले बढुवा प्रक्रियालाई अगाडी बढाउनु भएको थिएन् । बढुवा प्रक्रिया अगाडी बढाउने विषयमा चिकित्सक र पदाधिकारीविच भने पटक पटक सहमति भएको थियो । लोकसेवा आयोगले प्रतिष्ठानको नियमावली सच्याएर लोकसेवाको परामर्शमा मात्र बढुवा, कर्मचारी नियुक्ति गर्न पत्रचार गरे पछी प्रतिष्ठान प्रशासन अन्यौलमा परेको थियो । 

यता प्रतिष्ठानका सिनेट सदस्य समेत रहनु भएका धरान उपमहानगरपालिकाका  हर्क साम्पाङले कायममुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाइदिनु भएको छ । शिक्षक, कर्मचारीहरु आन्दोलनमा उत्रिएको बेला प्रतिष्ठानको समस्या समाधान गर्न छोडेर विदामा बसेको भन्दैं गत सोमबार दिउँसो मेयर साम्पाङले तालाबन्दी गर्नु भएको छ । चिकित्सकहरुले उपकुलपति गैरजिम्मेवार भएको भन्दैं प्रतिष्ठानलाई उपकुलपति कार्की निषेधित क्षेत्र घोषणा गरेका छन् ।