काठमाडौं । गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै सरकारले छुटाएका व्यक्ति फेरी चोरी आरोपमा समातिएका छन ।

झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत पक्राउ परेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसएपी शेखर खनालले जानकारी दिनु भयो । 

खनालका अनुसार, बस्नेत चोरी कसूरमा जिल्ला कारागार दोलखामा कैद सजाय भुक्तान गरिरहेका थिए । तर, २०८० साल असोज ३ गते संविधान दिवसका बेला असलचालचलन भएको भन्दै छुटेका थिए ।

छुट्नेवित्तिकै फेरि चोरीमा संलग्न भएको पाइएको प्रहरीको भनाई छ । यसअघि चोरीमा १२ वर्षसम्म जेल सजायको आदेश भएको एसएसप िखनाले बताउनु भयो । प्रहरीका अनुसार, बस्नेतविरुद्ध हालसम्म १२ वटा मुद्दा दर्ता भएको देखिन्छ । तीमध्ये ९ वटा चोरीसम्बन्धी कसूरका छन् भने ३ वटा अभद्र व्यवहार सम्बन्धी कसूरमा छ ।

ललितपुरमा ४, काठमाडौंमा २, काभ्रेमा २, भक्तपुरमा एक र दोलखामा ३ वटा मुद्दा दर्ता भएको उहाँले बताउनु भयो । एसएसपी खनालका अनुसार, उनले चोरीका लागि अनौठो तरिका प्रयोग गर्ने गरेको खुलेको छ । ‘प्रायः विदेशी बस्ने घरलाई टार्गेट गर्ने गरेको देखिन्छ भने चोरी गर्न छिर्दा र बाहिर निस्किँदा फरकफरक लुगा लगाउने गरेको पाइएको । प्रहरीलाई अनुसन्धान गर्दा गाह्रो होस् भनेर उनले यसो गर्ने गरेको देखिएको छ । प्रहरीबाट बच्नका लागि चोरी गरेर फर्किँदा समेत सिधै घर नगई अनत्र जाने गरेको र भक्तपुरको निकोसेरा डेरा भएकामा उनी चोरी गरेर निस्किएर काठमाडौंका विभिन्न स्थान डुलेर कहिले साइकल कहिले पठाओ चढेर घरसम्म पुगेको पाइएको प्रहरीले जनाएको छ ।