धरान । यातायात मजदुरहरुको समस्या पहिचान र समाधानका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मजदुरहरुले काम गर्ने बसपार्क आधारित शिविर सञ्चालन गरेको छ । 

बुधबार धरानको भानुचाकेस्थित बसपार्कमा बिहान ७ बजेदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीले शिविर सञ्चालन गरेको अभियानमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई स्वयम बसपार्क मजदुरहरुसंग भेटघाट, छलफल तथा समस्याहरु सुचिकरण गरिरहनु भएको छ । 

शिविरमा मजदुरहरुको सडकका समस्याहरुको पहिचान गर्ने, समस्याहरुलाई सुत्रबद्ध गर्ने, सम्भव भएसम्म तत्काल समाधान गर्ने र तत्काल समाधान गर्न नसकिएका समस्याहरु सुत्रबद्ध गरेर समाधानको उपायहरुको खोजी गर्ने उदेश्यले संगठनका नेतृत्व कार्यथलोमा परिचालन भइरहेका छन् । 

पाँचदिनसम्म सञ्चालन हुने अभियानमा समस्याहरुको संकलनका साथसाथै मजदुरहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सदस्यता कार्यथालो मै निर्माण गर हस्तान्तरण गर्ने उदेश्य रहेको संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताउनु भयो । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको क्रममा रहेको र सरकारले सरोकारवालाहरुलाई वेवास्ता गरिरहेको अवस्थामा सडकमा काम गर्ने यातायात मजदुरहरुको समस्याहरुको सुचिकरण र समाधानका लागि दिगो उपायको खोजिमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निरन्तर लागिरहेको र देशव्यापी अभियान चलाइरहेकाले संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई कोशी प्रदेशमा खटिरहनु भएको संगठन धरान अध्यक्ष भट्टराईले बताउनु भयो ।

शिविरमा बुधबार मात्रै ८३ जना श्रमिकहरुसंग कुराकानी गरिएको र २४ जनालाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र जिफन्टको सदस्यता वितरण गरिएकोछ । जसमध्ये १४ जना यातायात मजदुरहरुले नयाँ सदस्यता लिएकाछन् भने १० जना मजदुरहरुले आफ्नो सदस्यता नविकरण गराएका छन् । 

अभियानमा जिफन्ट धरान उपमहानगर अध्यक्ष शमशेर वर्देवा, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा लगायतका सहभागी रहेकाछन् भने धरान वडा नम्बर २ का अध्यक्ष रमेश राईले समेत शिविरमा उपस्थित भएर मजदुरहरु संगठनको छलफलमा सहभागीता र एक्यवद्धता जनाउनु भएको छ ।