धरान / इलाममा हुन गाइरहेको सङ्घीय सांसदको उपनिर्वाचनमा पहिचानवादीहरूको साझा उम्मेदवार खडा गरिने भएको छ । ‘कोशी’ नाम खारेजीसहित प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको धरानमा सम्पन्न २ दिने बैठकले १० सूत्रीय निर्णय गर्दै यस्तो निर्णय गरेको हो । 

संविधान सभाका पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र २ संसदीय निर्वाचन क्षेत्र रिक्त छ । उक्त स्थानका लागि हुने उपनिर्वाचनमा पहिचानवादीहरूको साझा उम्मेदवार तय गर्ने संयुक्त सङ्घर्ष समितिले निर्णय गरेको आज धरानमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

बैठकले गरेका निर्णयहरू र आन्दोलनका आगामी कार्यक्रमका बारेमा पत्रकार महासङ्घको कार्यालय सुनसरीमा पत्रकार सम्मेलनमा ‘कोशी’ नाम राखिएको फागुन १७ गतेलाई कालो दिन मनाउन आउँदो फागुन १७ गते प्रदेश १ मा आम हडताल गर्ने निर्णयसमेत भएको जानकारी गराइएको छ ।

प्रदेश सभा, सरकार र प्रदेश सभाका सांसद र दलका नेताहरू जिम्मेवार भएर पुनः नामाङ्कनको प्रक्रिया अघि नबढाएमा आमहडताललाई आन्दोलन थप कडा बनाउँदै अनिश्चितकालीन रूपमा लम्ब्याउन सकिने बैठकले निणणर््य गरेको छ । 

सरकारी तथा गैरसरकारी कार्यालयहरूमा ‘कोशी’ नाम लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प राखिएको चलाइएको भए सम्बन्धित कार्यालय प्रमुखलाई हटाउन अनुरोध गर्ने, नहटाए पहिचानको लागि युवाको केन्द्रीय, जिल्ला, स्थानीय समिति र सङ्घर्ष समितिको स्थानीय तहले हटाउने र मेटाउने कार्य माघ १३ देखि फागुन १० गते गरिसक्ने निर्णय पनि गरिएको पत्रकार  सम्मेलनमा जानकारी गराइएको थियो । 

पहिचानवादी जातीय सङ्घ, सङ्गठनहरूमा रहेर पहिचान विरोधी काममा संलग्न हुनेलाई सम्बन्धित सङ्घ सङ्गठनहरूले कारबाही गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानप्रति प्रतिबद्धता जनाउँदै वर्तमान संविधानको रक्षा, सङ्घीय गणतन्त्रलाई कार्यान्वयन गर्न वर्तमान पार्टीहरूका नेताहरूले नसक्ने परिस्थितिमा वा रक्षा गर्न नचाहेमा निकट भविष्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्दै, देशैभर माहौल सिर्जना गर्न तयारी गर्ने निर्णय पनि गरेको छ ।

आन्दोलनका क्रममा इलाम जेलमा पुर्पक्षका लागि थुनामा रहेका आशिष् साम्बा लिम्बू रिहाइको पहल र घट्नाको अध्ययन गर्न नेपाल जनमुक्ति पार्टीको महासचिव पदम जवेगुको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरेको छ । 

प्रेस विज्ञप्तिमा भनिएको छ  ‘विगत १० महिना अघिदेखि प्रदेशको नाम कोशी खारेजीको आन्दोलनमा सशक्त रूपमा लागिरहेको उल्लेख गर्दै २०७९ फागुन १७ गते डकैती शैलीमा कोशी नाम राखिएको स्मरण गराइएको छ ।’

पत्रकार सम्मेलनमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष ग्याल्जे शेर्पा, पुनः नामाङ्कन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताची राई र नेपाल शेर्पा सङ्घका महासचिव लाक्पा शेर्पा, पूर्व संस्कृति मन्त्री गोपाल किराँती, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङगा ,लिम्बुवान पार्टीका नेताहरूलगायतको उपस्थिति थियो ।