धरान /  धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई बर्खास्त गर्न प्रतिष्ठानमा पदोन्नतिको माग राखेर आन्दोलनरत शिक्षक/कर्मचारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पत्राचार गरेका छन् । बिहीबार प्रतिष्ठानको शिक्षक कल्याण समाज र

कर्मचारी कल्याण समाजले प्रधानमन्त्री प्रचण्डलाई संयुक्त पत्राचार गरी बर्खास्त गर्न माग गरेका हुन् । शिक्षक कल्याण समाजका अध्यक्ष शेराज अहमद खान र कर्मचारी कल्याण समाजका अध्यक्ष

कविता ढकालद्वारा हस्ताक्षरित पत्रमा का.मु. उपकुलपति प्रा.डा. कार्कीलाई बर्खास्त गरेर प्रतिष्ठानको गतिरोध अन्त्य गर्न माग गरिएको छ । स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सह-कुलपतिलाई बोधार्थ दिइएको छ । प्रतिष्ठानका कर्मचारीको

डेढ दशकदेखि र शिक्षकहरूको आधा दशकदेखि पदोन्नति नभएको उनीहरूले पत्रमा उल्लेख गरेका छन् । पदोन्नतिका लागि प्रतिष्ठानले २०७९ पुसमा विज्ञापन गरेर प्रक्रिया सुरु गरेको थियो ।

२०८० असार ५ गत का.मु. उपकुलपतिमा प्रा.डा. कार्की नियुक्त भएपश्चात् पदोन्नतिको प्रक्रिया रोकिएको उनीहरूकाे भनाई छ । प्रतिष्ठानका शिक्षक कर्मचारीका अनुसार प्रा. डा. कार्कीले नै लोकसेवा आयोगसँग बढुवा प्रक्रिया रोक्नका लागि

निर्देशन मागेकाे उनीहरूकाे भनाई छ । प्रा.डा. कार्कीले बढुवाको प्रक्रिया रोकेपछि प्रतिष्ठानका शिक्षक कर्मचारी आन्दोलन उत्रिएका थिए । आन्दोलनकै क्रममा ८२ जना प्रतिष्ठानका चिकित्सकले राजीनामासमेत दिएका थिए । प्रतिष्ठानका सम्पूर्ण सेवा प्रभावित बनेपछि धरानका समाजसेवी तथा राजनीतिक दलको समन्वयमा २०८० कात्तिक २० गते प्रक्रिया पूरा गरेर पदोन्नति सुरु गर्ने सहमति भएको थियो ।

प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षक कर्मचारीबीच यही पुस २० गतेदेखि पदोन्नतिको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो । शिक्षक कर्मचारीले पटक-पटक दबाव दिएपश्चात् प्रा.डा. कार्कीले पुस २५ गते कार्यकारिणी समिति(कास) को बैठक बोलाए पनि आफै अनुपस्थित भए पछि चिकित्सक  कर्मचारी आक्राेशित भएका छन् । कासमा निर्णय हुने उनीहरूकाे उपेक्षा थियाे । आक्रोशित प्रतिष्ठानका शिक्षक कर्मचारीले प्रा.डा.कार्कीले सम्हाल्दै आएको कार्डियोलोजी विभागमा बुधबार तालाबन्दी गरेका थिए ।उपकुलपतिका लागि निषेधित क्षेत्र घोषणा प्रतिष्ठानका आन्दोलनरत शिक्षक, कर्मचारीहरूले का.मु. उपकुलपति प्रा.डा.कार्कीका लागि प्रतिष्ठानमा निषेधित क्षेत्र घाेषणा गरेका छन् ।

उनीहरूले कास बैठक राखेपछि मात्र प्रतिष्ठान प्रवेश गर्न दिने विज्ञप्तिमा उल्लेख गरेका छन् । बिहीबार प्रतिष्ठानको मूल गेट, डेन्टल गेट र उपकुलपति कार्यालयअघि निषेधित क्षेत्र लेखिएको ब्यानर राखेका छन् ।कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले आइतबारसम्म कार्यकारिणी समितिको बैठक नराखे आन्दोलनलाई सशक्त बनाउन बाध्य हुने बताउनु भएकाे छ । उनीहरूले शनिबारसम्ममा मागसम्बोधन नभए यही पुस २९ गतेदेखि इमर्जेन्सी, आई.सि.यु. तथा अन्तरङ्ग सेवा (वार्ड) बाहेक सम्पूर्ण सेवाहरू बहिष्कार गर्ने भएका छन् ।

पठन-पाठन र परीक्षाका कार्यक्रमलगायत सम्पूर्ण प्रशासनिक कार्यहरू बहिष्कार गर्ने,आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूले बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म उपकुलपति कार्यालयमा धर्ना दिने जनाए । आन्दोलनबाट पर्न जाने असुविधा उत्पन्न परिस्थितिको जिम्मेवार पदाधिकारी नै हुनुपर्ने विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।