काठमाण्डौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्ना सदस्यहरुलाई दिँदै आएको विभिन्न राहत वितरण र सडक दुर्घटना न्युनिकरण कार्यक्रम सार्वजनिक सडकमै सम्पन्न गरेकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सफा टेम्पो काठमाण्डौं जिल्ला कमिटीले पुरानो बानेश्वर – गौशाला सडकखण्डको बत्तिसपुतली पेट्रोलपम्प अगाडी सडकमा चालकहरुलाई राहत तथा सडक दुर्घटना न्युनिकरण कार्यक्रम गरिएको हो । 

संगठनको सदस्यहरु रमेश तामाङ, स्वस्थानी श्रेष्ठ, केशव तिम्सिना, सूर्यबहादुर तामाङ गरी यस महिनामामा मात्रै २७ जना चालकहरुलाई सवारी चालक अनुमतिपत्र नविकरण बापतको राहत प्रदान गरिएको हो । संगठनलाई नियमित ट्रिप शुल्क बुझाउने सदस्यहरुलाई संगठनले दिँदै आएको राहत प्रदान गरिएको संगठन सफा टेम्पो काठमाण्डौं जिल्ला अध्यक्ष विकास लामाले बताउनुभयो । 

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठनका सदस्य चालकहरुलाई राहत हस्तान्तरण गर्नुभएको थियो । 

त्यसैगरी चालक सहचालक तथा सडक प्रयोगकर्ता पैदलयात्रीहरुलाई संगठनको आयोजनामा सडकमै सडक दुर्घटना न्युनिकरण प्रशिक्षण प्रदान गरिएकोछ । 

उक्त कार्यक्रममा गौशाला ट्राफिक प्रहरी कार्याका बरिष्ठ सहायक इन्सपेक्टर पर्शुराम जोशीले प्रशिक्षण प्रदान गर्नु भएको थियो । वहाँले प्रशिक्षण दिँदै भन्नुभयो नेपालमा भित्रिरहेको अनियन्त्रित सवारीसाधन सडक पूर्वाधार विकासमा आएको सुस्तताले ट्राफिक व्यवस्थापनमा चुनौतीसंगै सडक दुर्घटनामा बृद्धि भइरहेको बताउनुभयो । 

वहाँले भन्नुभयो सडक प्रयोगकर्ता र चालकहरुमा ट्राफिक संकेत चिन्ह र ट्राफिक ज्ञान बृद्धि गर्न सकिए सडक दुर्घटना न्युनिकरण गर्न सकिने बताउनु भयो । पछिल्लो समय सडक दुर्घटनाको अध्ययन गर्दा दुइ पाङ्ग्रे सवारीसाधन र चार पाङ्ग्रे सवारीसाधन एकापसमा जुधेर दुर्घटना भइरहेको र दुइ पाङ्ग्रे सवारीसाधनका चालकको उमेर कम हुने गरेको पाइएको बताउनुभयो । 

सडक दुर्घटना निर्मुल पार्न नसकिए पनि सचेतना अभियान निरन्तर चलाउँदै जानेहो भने कम गर्न सकिने जोशीले बताउनुभयो । 

त्यस्तै उक्त कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले देशमा प्रत्येक दिन ७ देखि ८ जनाले सडक दुर्घटनामा परेर ज्यान गुमाइरहेको, वर्षमा सडक दुर्घटनामा परेर सरदर २ हजार ८ सय ८० जनाले ज्यान गुमाइरहेको र प्रत्येक वर्ष १४ हजार ४ सय व्यक्ति घाइते भइरहेको संगठनका अध्यक्ष भीमज्वाला राईले अवधारणा प्रस्तुत गर्दै तथ्य प्रस्तुत गर्नु भएको थियो । 

हामी सबैजना सडक दुर्घटनाको जोखिममा रहेकाले सडक सुरक्षाका बारेमा सबै नागरिक, सबै संघसंस्थाहरु, तीनवटै तहका सरकारले गम्भिर नहुने हो भने अवस्था झन भयावह हुने बताउदै प्रहरी प्रधान कार्यालयको स्रोत उल्लेख गर्दै चार वर्षमा भएको सडक दुर्घटना र त्यसबाट ज्यान गुमाउनेहरु र घाइते हुनेहरुको तथ्य अध्यक्ष राईले प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु लामा, महासचिव केशव थापा, केन्द्रीय सदस्य कमल सापकोटा, बागमती प्रदेश अध्यक्ष शंकर थापा, सचिव शिवकुमार श्रेष्ठ लगायतका नेताहरुको सहभागीता रहेकोथियो ।