ओखलढुङ्गा,  हर्कपुर / नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढावा दिइरहेको बताउनुभएको छ  । ओखलढुङ्गाको हर्कपुरमा भएको सभालाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई  भित्र भित्रै बढाबा दिएर चलिरहेको छ ।” 

 पुष्पलाल मध्यपछाडी लोक मार्ग केन्द्रित झुलाघाट चिवाभञ्ज्यांङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा भएको सभालाई सम्बोधन गदै अध्यक्ष ओलीले सरकारले बिकास ठप्प पारेर निराशा फैलाउने काम मात्रै गरेको आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्दै एमालेले मात्रै शान्ति सुव्यवस्था कायम गर्न सक्ने दावी गर्नु भयो । 

एमाले सरकारमा गएको बेला व्यवहार र इतिहासले प्रमाणित गरेको दाबी गर्दै नेकपा एमालेले मात्रै देशमा समृद्धि ल्याउने बताउनुभयो ।उहाँले नेकपा एमाले साँढे तीन वर्ष सरकारमा हुँदा  एयरपोर्ट, बाटो घाटो निर्माण, खानेपानीको व्यवस्था र कृषिको विकासमा  एमालेले काम गरेको स्मरण गराउनुभयो । अध्यक्ष ओलीले मिसन २०८४ एमालेका लागि मात्र नभइ देशको समृद्धि र विकासका लागि चाहिएको बताउनु भएको छ । कोशी प्रदेशको पहिलो सभा हर्कपुरमा हजारौको सहभागिता रहेको थियो । टोलीलाई स्वागत गर्न गाउँगाउँबाट स्थानीयहरु सहभागी हुनु भएको थियो । 

     टोलीमा सहभागी प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाका अनुसार आजै खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया भएको छ । अन्र्तक्रिया पछि टोली दिक्तेल तर्फ लागेको छ । आज यात्राले ६६ किलोमिटरको दुरी पार गर्ने छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुष १ गते समापन हुदैंछ ।

टोलीले कोशी प्रदेशका मध्य पहाडी जिल्लाका स्थानीयहरुसँग छलफल, त्यहाँका समस्या, गुनासोहरुको सुनुवाई तथा कोशी प्रदेशको समृद्धिकाबारे अध्ययन परामर्श गर्ने कार्यक्रम रहेको अभियानमा सहभागी प्रेस चौतारी नेपालका उपाध्यक्ष तथा नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका केन्द्रीय सदस्य राजेस राईले जानकारी दिनु भएको छ । मंसिर २८ गते टोली तेह्रथुमको बसन्तपुर पुगेर सभा गर्ने छ । सभाको सम्पूर्ण तयारी भएको नेकपा एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनु भयो ।