धरान । धरान काकडभिट्टा रुटका बस चालक विकि प्रधानले मजदुरहरुले काम गरिखान सक्ने अवस्था नभएको बताउनु भएको छ ।  । सडक सिमित छ तर सवारीसाधनको संख्या अत्यधिक हुँदा ट्राफिक समस्या विकराल रहेको, सडक दुर्घटनाको जोखिम तिब्र रहेको र ट्राफिक प्रहरीको असहिष्णु व्यवहार र प्रशानिक झमेलाले काम गर्न समस्या परेको उहाँ बताउनु हुन्छ ।  

प्रधानको कुरामा होमा, हो थप्दै चालक दिपक कार्कीले भन्नु भयो, 'चालक भएर काम गरेको दशकौँ भयो तर, गाडी चलाएर जीवन चल्छ जस्तो लाग्न छाडेकोछ । अब त विदेश जाँउ जस्तो लागिरहेकोछ गरिखाने मजदुरलाई हेर्ने दृष्टिकोण नै गलत छ अनि विदेश नगएर के गर्नु ।' त्यस्तै पहाडी रुटमा लामो समयदेखि काम गरेका गोपाल थापाले भने, 'ट्राफिक जरिवानाले हामी त हैरान भयौं । अब संगठनले यातायात मजदुरहरुको समस्या समाधानका लागि सडक आन्दोलन गर्नु पर्छ हामी तयारछौं साथ दिन ।'

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशव्यापी रुपमा सञ्चालन गरिरहेको मजदुरहरुले काम गर्ने ठाँउमै पुगेर मजदुरहरुको समस्या सुन्ने र समस्याको समाधान गर्ने कार्यथलो अभियान अन्तर्गत संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई धरान १५ स्थित अरुण ग्यारेजमा आउने भनेपछि करिव ४५ जना यातायात मजदुरहरु भेला हुनु भएको थियो ।  

उपस्थित मजदुरहरुले सडकको समस्या, ट्राफिक प्रहरीको समस्या, यातायात क्षेत्रको कानुनी समस्या, लाइसेन्स निलम्बनका समस्या, ट्राफिक जरिवानाका समस्या र चालकहरु जेल जानु परेका समस्या पालैपालो राख्नुभयो । उहाँहरुले पेसा प्रतिको निरासा पनि पोख्नु भयो । उहाँहरुको जिज्ञासामा संगठनका अध्यक्ष भीमज्वाला राईले आफ्ना कुरा राख्नु भएको थियो ।  

अनौपचारिक रुपमा ग्यारेजमै मजदुरहरु कोही रुटबाट फर्कदै गरेको, कोही सवारी मर्मत गरिरहेको कोही सवारीसाधन सरसफाइ गर्दै गरेको अवस्थामा सबैलाई एकत्रित गर्दै संगठनका अध्यक्ष राईले देशका ११ लाख यातायात श्रमिकहरु असुरक्षित रहेको, यातायात क्षेत्रमा लगानी भएको करिव १० खर्ब जोखिममा रहेको, सरकार यातायात मजदुर र व्यवसायी प्रतिकुल ऐन कानुन बनाउन तल्लीन रहेको र देशको सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त रहेकाले सबैभन्दा बढी यातायात श्रमिकहरु अपमानित हुनु परेको बताउनुभयो । 

यातायात श्रमिकहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षा लागु गर्न, मजदुर प्रतिकुल सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का दफाहरु संशोधन गर्न, यातायात क्षेत्र सुधारका लागि राष्ट्रिय यातायात प्राधिकरण गठन गर्न, सडक दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा परिषद्को गठन गर्न सरकारलाई संगठनको तर्फबाट सुझाव दिइएको तर सरकारले नसुनेको अध्यक्ष राईले बताउनुभयो । 

सानो आवाजमा हाम्रा आवाजलाई सरकारले नुसुन्ने बताउँदै देशभरीका ११ लाख यातायात मजदुरहरु संगठित हुन आवश्यक रहेको अध्यक्ष राईले बताउनुभयो । 'सबै मजदुरहरुलाई संगठनमा आवद्ध गरौं, संगठनलाई आर्थिक रुपबाट शक्तिशाली बनाऔं, भावनात्मक रुपमा सबै मजदुरहरु एक बनौँ हाम्रा आवाज सरकारले सुन्छ ।'- राईले भन्नुभयो । 

घाइते मजदुरलाई आर्थिक सहयोग 

 सडक दुर्घटनामा स्पाइनलकर्ड इन्ज्यूरी चालक सोम राईलाई उपस्थित यातायात मजदुरहरुले आर्थिक सहयोग गरेकाछन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सञ्चालन गरेको कार्यथलो अभियान अन्तर्गत अरुण ग्यारेज धरान १५ मा भएको भेलाबाट घाइते चालक राईको उपचारका लागि ७ हजार ६ सय ५ रुपैया सहयोग संकलन भएको हो ।  

राईको थप उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटीको पहलमा विकि प्रधानको संयोजकत्वमा सहयोग समिति गठन भएको छ । 

राईको उपचारका क्रममा तिर्न बाँकी रहेको औषधि बापतको करिव डेढलाख रुपैया सबै श्रमिकहरुसंग सहयोग संकलन गरेर तिर्ने उदेश्य रहेको संगठन धरान उपमहानगर अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।